धितोपत्र बोर्डलाई प्रभावमा पारेर ४ सय प्रिमियमका साथ छायादेवीको आईपीओ जारी गर्ने प्रपञ्च

6.9k Shares

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला सेयर बेचेर लगानी उठाई सर्वसाधारणलाई डुबाउने नियतका साथ छायादेवी कम्प्लेक्सले ४ सय प्रिमियम थपेर आईपीओ जारी गर्ने प्रपञ्च रचेको छ ।

विवादित छायादेवी कम्प्लेक्सले १४ लाख ३७ हजार ५ सय कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा गत भदौमा नै आवेदन दिएको थियो ।

सार्वजनिक पोखरी मासेर छायादेवी कम्प्लेक्स बनाइएको विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा छायादेवीले आईपीओ निष्कासनका लागि आवेदन दिएको हो । नेपाल धितोपत्र बोर्डका प्रतिनिधिलाई प्रभावमा पारेर छायादेवी कम्प्लेक्सले ५७ करोड ५० लाख रुपैयाँको सेयर बिक्री वितरण गर्न लागेको हो ।

छायादेवी कम्प्लेक्सले ३ वर्षअघि नै आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

लगातार घाटामा गइरहेको छायादेवी सेन्टरले नक्कली नाफा देखाएर १० प्रतिशत सेयर सर्वसाधारणलाई दिन धितोपत्र बोर्डमा निवेदन दिएको थियो । हाल अदालतमा मुद्दा विचाराधीन रहेको र स्थानीय बासिन्दाको विरोध रहेकाले धितोपत्र बोर्डले छायादेवी कम्प्लेक्सको आईपीओ निष्कासनका लागि अनुमति दिन सकेको छैन ।

अन्तर्राष्ट्रिय स्तरमा सबैजसो कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक बिल्डिङमार्फत निष्कासन गर्ने गरेको भए पनि नेपालमा नेपाल धितोपत्र बोर्डले यसका लागि चारवटा मापदण्ड तय गरेको छ । बोर्डका अनुसार संगठित संस्था विगत तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालनमा रहेको अवस्थामा सेयर जारी गर्न सकिन्छ ।

यसैगरी, संगठित संस्थाको साधारणसभाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको अवस्थामा पनि सेयर जारी गर्न पाउने प्रावधान छ । संगठित संस्थाको प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १ सय ५० प्रतिशत रहेको पनि सेयर निष्कासनका लागि मापदण्ड रहेको छ । संगठित संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेका हुनुपर्ने प्रावधान बोर्डको छ ।

यी मापदण्ड पूरा गरेका कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न पाउनेछन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा आईपीओलाई दुई भागमा छुट्याइने गरिन्छ । ४० प्रतिशत संस्थागत लगानीकर्ताका लागि लिलामी प्रक्रियाबाट मूल्य निर्धारण गरिन्छ भने बाँकी ६० प्रतिशत सेयर ‘कट अफ प्राइस’मा आमसर्वसाधारणका लागि छुट्याइन्छ ।

नेपाल धितोपत्र बोर्डका चारवटा मापदण्डमध्ये पहिलो मापदण्डअनुसार छाया सेन्टरले तीन आर्थिक वर्षमा लगातार नाफा गरेको छैन । एकातिर कम्प्लेक्समा धमाधम सटर खाली हुनेक्रम बढिरहेको छ भने घाटामा सञ्चालन भइरहेको छाया सेन्टरलाई नक्कली नाफा देखाएर सेयरधनीहरू उम्कन खोजिरहेका छन् । आईपीओ जारी गर्नुको उद्देश्य सेयरधनीहरूले आफ्नो लगानी उठाउन खोजिरहेका छन् । त्यसका लागि हतारहतारमा आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

छायादेवी सेन्टर बनेको जग्गा सार्वजनिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतले किनारा नलगाउँदै हतारमा आईपीओ निष्कासनका लागि आवेदन दिनुलाई संशय उत्पन्न भएको ठमेलका स्थानीय तथा अभियन्ता भागवतनरसिंह प्रधानले बताए । ‘हामीले आईपीओ निष्कासन रोक्न माग गर्दै ३ वर्षअघि नै नेपाल धितोपत्र बोर्डसँग माग गरेका थियौं,’ प्रधानले भने, ‘सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ सकेर निर्णय सुनाउने समयमा पारेर पुनः छायादेवी कम्प्लेक्सले आईपीओ निष्कासनका लागि आवेदन दिनु अदालतको अवहेलना गर्नु हो ।’ आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार