काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल गरिरहेको आरोप लगाएका छन् ।
जसपा नेपालको आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक, संगठनात्मक प्रतिवेदनमा यस्तो आरोप लगाएका हुन् ।
यादवले ओली नेतृत्वको सरकारले आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गर्दै सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण भएको उल्लेख गरेका छन् ।
वर्तमान सरकार बारे जसपा नेपालको धारणा प्रस्तुत गर्दै अध्यक्ष यादवले सात बुँदे सहमतिको जगमा ओलीको नेतृत्वमा गठन भएको सरकार मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।