काठमाण्डाै – दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसान र प्रहरीबीच काठमाण्डाैको नयाँ बानेश्वरमा झडप भएको छ । झडपपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । दाङको देउखुरीबाट काठमाण्डौ आएका गुठीपीडित मोही किसान एक महिनादेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । उनीहरू प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको हो ।
गुठीपीडित मोही किसानले निषेधित क्षेत्रभित्र प्रवेश गर्न लाग्दा झडप भएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो । झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा पौडेल घाइते हुनुभएको छ । उहाँको टाउकामा पाँच वटा टाँका लगाएको एसपी बोहराले बताउनुभयो ।
गएको वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन माग गर्दै गुठीपीडित किसान आन्दोलनमा छन् । २०८० चैत ७ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहमति गरेको थियो । जसमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुनेगरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो । एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन । त्यसका लागि दबाब दिन एक महीनाअघि गुठीपीडित किसान काठमाडौं पुगेका हुन् ।