सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत

20.5k Shares

काठमाडौँ ः प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो पुम्से च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जितेकी छन् ।   

महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुन् । उनले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गरेकी हुन् । 
दुवैबीच कडा प्रतिस्पर्धा भएको थियो । स्युचाटारको टोलीबाट खेलेकी सञ्जिलाले ६ दशमलव ५६ अंक प्राप्त गर्दै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।  सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अंक तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गरेको प्रतियोगिताका निर्णायक अशोक खड्काले जानकारी दिए । 
यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु प¥यो । सेनामा सिपाही दर्जामा कार्यरत उनी नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित भए । प्रेमबहादुरले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेका थिए । दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अंक प्राप्त गरेका थिए ।  प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन् । सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अङ्क तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य पदक प्राप्त गरेका थिए ।  
काठमाडौँ जिल्ला तेक्वान्दो संघङ्द्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

सम्बन्धित समाचार