काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

16.5k Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा साताव्यापी भ्रमणका लागि बेलायत प्रस्थान गरेपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए । उपसभापति निधि सभापति देउवालाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।

सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा  तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापति तोकेका थिए । पछि ०७५ बैशाखमा देउवाले निधिलाई उपसभापति मनोनित गरेका थिए ।

यस्तै ०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए । तर यस पटक प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दासम्म निधिलाई कार्यवाहक जिम्मेवारी दिने कुनै संकेत थिएन ।

देउवालाई बिदाइ गर्न उपसभापति निधि त्रिभुवन विमानस्थल पुगेका थिए । उनी त्यहाँबाट फर्किएपछि काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पत्र तयार पारेका थिए ।

पार्टी र सरकार सञ्चालनका सन्दर्भमा आन्तरिक छलफल गर्दा पछिल्लो समय देउवा निधिलाई बाइपास गरेको देखिन्छ । पार्टी र सरकार सञ्चालनमा महामन्त्री पूर्णबहादुर खड्का हाबी भएका छन् । आज निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन गरिएको ढिलाइले पनि त्यो दर्शाउँछ ।

सम्बन्धित समाचार