परीक्षा आउन आँट्यो, आएन किताब

11.8k Shares

इलाम । स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने भन्दै इलाम नगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम बनायो । पाठ्यक्रममा पालिकाको राजनीतिक, भौगोलिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदा परिचित गराउने विषय समावेश ग¥यो । तर, शैक्षिक सत्रको अन्त्यमा पनि विद्यार्थीलाई पुस्तक वितरण गर्न सकेको छैन ।

‘इलामको सेरोफेरो’ नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको इलाम नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक तयार गर्न नसकेको हो । शिक्षकले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । यसै शैक्षिक सत्रको अन्तिम परीक्षा आउनै लाग्दा पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक नपाउँदा विद्यार्थी भने के पढ्ने ? कसरी परीक्षा दिने ? भन्ने अन्योलमा छन् ।

शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अंक ल्याउन सकिन्छ भन्ने चिन्तामा विद्यार्थीहरू रहेका छन् । कक्षा ६ देखि ८ सम्म पढाइ भइरहेको पर्यटन नामक स्थानीय पाठ्यपुस्तक हटाएर कक्षा १ देखि ८ सम्म ‘इलामको सेरोफेरो’ नामक पाठ्यक्रम तयार बनाए पनि पुस्तक दिन नसक्दा शिक्षकले भनेकै भरमा परीक्षा दिनुपर्दा विद्यार्थी चिन्तित छन् ।

स्थानीय पाठ्यक्रम लागू गर्ने भनेर सुरु गरे पनि अहिलेसम्म पाठ्यपुस्तक छाप्न सकेको छैन । परीक्षाको मुखमा विद्यार्थीको हातमा पुस्तक छैन । पुस्तकबिना पढाइ कसरी प्रभावकारी होला र  ? भन्ने प्रश्नको जवाफमा सबै विद्यालयमा शिक्षकहरूले पाठ्यपुस्तकबिनै कक्षा सञ्चालन गरेका छन्, त्यसकै आधारमा विद्यार्थीले परीक्षा दिनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् । शैक्षिक सत्रको अन्तिममा आइपुग्दा कक्षा १ देखि ३ सम्मको बाहेक पाठ्यपुस्तक तयार हुन सकेको छैन ।

इलाम नगरपालिका शिक्षा शाखा प्रमुख राधिका घिमिरेले शिक्षकले पाठ्यक्रम हेरेर पढाउने बताइन् । उनले भनिन्, ‘पाठ्यपुस्तक नभए पनि फरक पर्दैन, पाठ्यक्रममा सबै कुरा हुन्छ, शिक्षकलाई पाठ्यपुस्तक चाहिने होइन, विद्यार्थीलाई चाहिने हो ।’ शिक्षकले पाठ्यक्रम हेरेर राम्रोसँग पढाउने हो भने किताब नै नचाहिने घिमिरेको भनाइ छ । ‘पाठ्यक्रम दिइसकेको छ, त्यही पाठ्यक्रमका आधारमा शिक्षकले पढाउनुपर्ने हो,’ घिमिरेले भनिन् ।

अहिले पढाइ भइरहेको र पाठ्यक्रम भएपछि परीक्षाको तयारीका लागि समस्या नहुने उनको तर्क छ ।

कक्षा ३ सम्मको पुस्तक वितरण भइसकेको, कक्षा ४ को किताब छपाइमा गएको र कक्षा ५ को किताब तयारी भइरहेको घिमिरेको भनाइ छ । ‘पाठ्यपुस्तक तयार गर्न २५ जना विज्ञबाट काम भइरहेको छ,’ घिमिरेले भनिन्, ‘पुस्तकको काम छिटो होस् भनेर अवकाश भएका शिक्षकहरूलाई प्रयोग गरिएको छ र उहाँहरूबाट मस्यौदा आएपछि नगरपालिकामा खडानन्द अधिकारीको संयोजकत्वमा बनेको समितिले फाइनल गर्नेछ ।’

कक्षा ४ को पाठ्यपुस्तक छपाइमा गइसकेको र चैतसम्ममा कक्षा ५ को पनि तयारी गर्नेगरी लागिरहेको भन्दै आगामी असारसम्ममा सबै पाठ्यपुस्तक तयारी भइसक्ने उनले बताइन् । स्थानीय सरकार सञ्चालन ऐनमा अनिवार्य स्थानीय पाठ्यक्रम बनाएर पुस्तक छाप्नुपर्ने उल्लेख छ । ऐनअनुसार स्थानीय पाठ्यक्रम तयारी भएर पनि समयमा पुस्तक तयार हुन नसक्दा परीक्षाको मुखमा पनि विद्यार्थीले पुस्तक देख्न पाएका छैनन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार