सात जातका गहुँको परीक्षण गरिँदै

12.6k Shares

चितवन ।  भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।

गहुँको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए÷नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताउनुभयो । उहाँका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।

एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।” उहाँका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो । 

स्थानीय दीननाथ आचार्यले गहुँ लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताउनुभयो । गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उहाँको भनाइ छ । 

सम्बन्धित समाचार