बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी

8.7k Shares

काठमाडौँ । क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने बताउनुभएको हो ।

उहाँले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लगायत संस्थाहरुले औषधी उपलब्ध गराएपछि थप सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चार वटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधी प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढङ्गबाट लक्षित समूहसम्म पुर्‍याउने काम हुन्छ ।’’

उहाँले औषधीका वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी दिनुभयो । काठमाडौँको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधी वितरण हुने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार