बागमतीकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

16.8k Shares

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो । विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उनले भनिन्, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो । मन्त्रीहरू र दलको बैठक पनि बसियो । यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु ।’

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन् । उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन् । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबादसमेत दिएकी छन् ।

प्रदेश सभामा बोल्दै उनले एकतावद्ध भएर अगाडि बढ्न आह्वान गरेकी थिइन् । प्रदेश विकास गर्ने हो भने सबै दल मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अब बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे भावी मुख्यमन्त्रीका रूपमा अघि बढेका छन् । सभामुखले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।


सम्बन्धित समाचार