मुगु। कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माणकार्य अलपत्र परेको छ । खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको उक्त आयोजना निर्माण कम्पनीकोे लापरवाहीले अलपत्र परेको हो ।
डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख गोबिन्द्र महतका अनुसार रारा पर्यटकीय पदमार्ग निर्माणका लागि सङ्घीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८-७९ को बजेटमा ४५ करोड २९ लाख १० हजार ७९ रुपियाँमा खानी थोदुुङ क्याराभानले २०७९ असारमा निर्माणको जिम्मा पाएको थियो ।
१४ किलोमिटर लामो पदमार्गका पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या भएको स्थानीय नन्द्रबहादुर रोकाया बताउनुहुन्छ । राराको नाममा यस्ता विकास निर्माणसम्बन्धी योजना धेरै आएको सुनिने तर कार्यान्वयन नभएको उहाँको भनाइ छ । निर्माण कम्पनीको दोष मात्र भन्दा पनि सरकारी निकायले समेत योजना अगाडि बढाउन चासो नदेखिएको उहाँको भनाइ छ ।