म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बाग्लुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि गाडी चल्न थालेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा मार्ग खुलेको रुमबाट खवाङ हुँदै ताराखोला जोड्ने १३ किलोमिटर सडकमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण गाडी सञ्चालन हुन सकेका थिएनन् ।
मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले पाँच वर्षअघि मार्ग खुलेको सडक मर्मत गरेर जीप, मोटरसाइकल र ट्र्याक्टर सञ्चालन गरेपछि रुम, निस्कोट, डाडागाउँ र ताराखोलाका एक हजार बढी घरपरिवार लाभान्वित भएका बताउनुभयो ।
रुमबाट ताराखोला पुग्न चार घण्टा पैदलयात्रा गर्नुपर्नेमा गाडी चल्न थालेपछि एक घण्टामै पुग्न सकिने भएको छ । रुमबाट ताराखोला हुँदै बाग्लुङको गलकोटमा मध्यपहाडी राजमार्गसँग जोडिने सडकलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।
यो सडक भएर म्याग्दीको मालिका, धवलागिरि र मङगला गाउँपालिकाका बासिन्दालाई बाग्लुङ हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार आउजाउ गर्न नजिक पर्छ ।