काठमाण्डौ – किसानले कृषि उपजको उत्पादन अनुसार लागत पाउन नसकेको र उपभोक्ताले महँगो किनेर खानुपर्ने अवस्था रहेकोमा राष्ट्रिय किसान आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
कृषि उपजहरुको लागत र बजार मूल्यको सम्बन्धमा निरन्तर गुनासो आएको भन्दै आयोगले सरोकारवालासँग छलफल गरी आवश्यक नियमन गर्न सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
आयोगका अध्यक्ष डा.प्रेम दंगालले कृषि क्षेत्रमा सुशासन ल्याउनुपर्नेतर्फ जोड दिनुभएको छ । उहाँले किसानलाई सामाजिक न्यायको अनुभूति गराउनुपर्ने बताउनुभयो । पालिकाले विकासका पूर्वाधारलाई मात्रै नभएर किसानको समस्यालाई पनि प्राथमिकतामा राख्न आयोगका अध्यक्ष दंगालको सुझाव छ ।
आयोगका सदस्यहरु टेकबहादुर बोगटी, जीवन्ती पौडेल, मञ्जु धिमालले अहिले तरकारी उत्पादन किसान मर्कामा परेका भन्दै प्रभावकारी बजार संयन्त्र हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले लागत नउठेर मारमा परेका किसानलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो ।
कृषि अर्थविज्ञ डा.देवेन्द्र गौचनका अनुसार भारतीय तरकारी भित्रिदा अहिले नेपाली किसान मर्कामा परेका छन् । मुख्यगरी मङ्सिर, पुसदेखि वैशाख, जेठसम्म किसानले आफ्ना उत्पादनमा वर्षेनि यो समस्या झेल्दै आएका भन्दै उहाँले बजारमा प्रभाव पार्ने तत्वहरुको विश्लेषण गरी नीति नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।