खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बढीको क्षति भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गयराति सुरु भएको आगोले चार वटा घर, तीन वटा होटेल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो ।
आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिएका छन्।
निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटेल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ । साँझ करिब ७ बजेदेखि सुरु भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटेलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रू ३० लाख बराबरको क्षति भएको जनाइएको छ ।