नेपालगन्ज । बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान पनि सुरु भएको छ । दोस्रो चरणमा जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले दोस्रो चरणमा चारवटा पालिकाका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका १२ हजार ३६१ जना बालिका र किशोरीलाई खोप लगाइने बताउनुभयो ।
यसअघि माघ २२ गते सुरु भएको पहिलो चरणको खोप अभियानअन्तर्गत बाँकेको नेपालगन्जसहित चार पालिकाका २२ हजारभन्दा बढी बालिका र किशोरीलाई खोप लगाई सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो चरणको खोप अभियान राप्तीसोनारी गाउँपालिकाको शिवशक्ति माध्यामिक विद्यालयबाट सुरु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
सो अभियानको सुभारम्भ प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाले गर्नुभयो । उहाँले धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरजस्तो रोगबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेकाले त्योबाट रोक्न अहिलेनै खोप लगाउन उपयुक्त भएको बताउनुभयो ।