गाेरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षाैंदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती शुरू भएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट–३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती शुरू भएको गाउँपालिकाकाे कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो ।
‘झन्डै २ हजार २ सय मिटरको उचाइमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरूलाई समेटेर कागतेखर्क बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ’, उहाँले भन्नुभयो, ‘त्यही समूहमा आबद्ध किसानहरूलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ त्यहीअनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’
मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सय वटा ओखरका बेर्ना वितरण गरिएको कृषि शाखाका प्रमुख ढकालले बताउनुभयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याई किसानहरूलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई ४ वटा 'प्लट' बनाएर बेर्ना लगाउन थालिएको ढकालकाे भनाइ छ ।