नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

9.4k Shares

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा विद्युतीय गाडी चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । साना–ठूला गरी एकसाथ पाँच वटा गाडी चार्ज गर्न मिल्ने गरी स्टेशन सञ्चालनमा ल्याइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहयोगमा एक करोड रुपैयाँ लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताउनुभयो । उहाँले राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो ।

नारायणघाट–बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको अधिकारीले बताउनुभयो ।

यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्व–पश्चिम राजमार्ग भएर सञ्चालन हुने गाडीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सिर्जना भएको उहाँको भनाइ छ । गाडीको ब्याट्री क्षमतानुसार चार्जिङको समय लाग्ने र त्यहीअनुसारको शुल्क लिने गरिएको छ ।

 

सम्बन्धित समाचार