सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरु पास नहुने दावी गर्नुभएको छ। उहाँले ती अध्यादेशहरु आफूहरुलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दावी गर्नुभयो।
वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष प्रचण्डले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराउनुभयो । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उहाँले पेलेर नजान पनि आग्रह गर्नुभयो । यसैगरी सरकारले विकास बजेट पनि घटाउँदै जान लागेकोले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने उहाँको भनाइ छ । अहिले आर्थिक संकटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै उहाँले भन्नुभयो, ‘यदि विकास बजेट घटेमा प्रतिपक्ष सशक्त रुपमा प्रतिवाद गर्दछ ।’
यसैगरी उहाँले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने जानकारी दिनुभयो । उहाँले अहिलेको काँग्रेस र एमाले गठवन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिदैं नेकपा माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने पक्षमा नलाग्ने बरु जनतामाझ गएर सशक्त भएर प्रतिपक्ष बन्ने उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकार ढाल्ने, नयाँ बनाउने वा नयाँ गठवन्धन गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसक्ने दावी गर्दै उहाँले बरु भ्रष्टाचार, विभेदलाई प्रोत्साहन गरेको आरोप लगाउनुभयो । साथै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झेलीको संज्ञा दिदैं एमालेको तुलनामा काङ्ग्रेस केही बढी लोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । साथै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने पनि उहाँले बताउनुभयो ।