प्रदेश सरकारद्वारा एम्बुलेन्स भाडादर निर्धारण

8.9k Shares

हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशभर सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्रीय स्तरीय निर्णयवाट क र ख वर्गको एम्बुलेन्स सेवाको भाडा दर निर्धारण गरिएको हो । 

मन्त्रालयका अनुसार एम्बुलेन्स सेवामा भुगोल हेरेर फ्ल्याग दुरी एक देखि पाँच किमिसम्म मानेर त्यसको भाडा दर तीन सयदेखि पाँच सय रुपियाँसम्म राखेर जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिले लागू गर्ने गराउने गरी निर्देशन दिइएको छ ।

यस्तै समितिले तोकेको भाडा दरलाई आधार बनाई जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिलाई रुट अनुसारको भाडा दर कायम गर्न जिम्मेवारी दिइएको छ । ख वर्गको एम्वुलेन्स सेवा दोहोरो (आउनेजाने) तराईमा पिच सडकमा प्रति किमि दर ६१.६९ रुपियाँ, ग्राभेल सडकमा ६७.९४ रुपियाँ र कच्ची सडकमा ८१.३६ रुपियाँ निर्धारण गरिएको छ ।

पहाडी क्षेत्रमा पिच सडकमा प्रति किमि दर १००.७४ रुपियाँ, ग्राभेल सडकमा १०९.१० रुपियाँ र कच्ची सडकमा १२१.१७ रुपियाँ निर्धारण गरिएको छ । यसैगरी क वर्गको एम्वुलेन्स सेवा दोहोरो (आउनेजाने) भाडा ख वर्ग भन्दा २५ प्रतिशतभन्दा बढी नहुने गरी तराईमा पिच सडकमा प्रति किमि दर ७७.११ रुपियाँ, ग्राभेल सडकमा ८४.९३ रुपियाँ र कच्ची सडकमा १०१.७० रुपियाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

पहाडी क्षेत्रमा पिच सडकमा प्रति किमि दर १२५.९२ रुपियाँ, ग्राभेल सडकमा १३६.३६ रुपियाँ र कच्ची सडकमा १५१.४६ रुपियाँ निर्धारण गरेको छ । निर्धारण गरिएको एम्बुलेन्स भाडा दर स्वास्थ्य मन्त्रालयले छ महिनामा पुनः मूल्याङ्कन गर्ने व्यवस्था रहेको मन्त्रालयका चिकित्स सेवा महाशाखाका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार