काठमाण्डौ – आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
संसारभर नै हरेक क्षेत्रमा लैङ्गिक समानताको कुरा भईरहदा विज्ञान प्रविधि र सूचना तथा अनुसन्धानको क्षेत्रमा महिलाको पहुँच बढाउन दिवस मनाउने गरिन्छ । दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको बेला यस क्षेत्रमा महिलाको उपस्थिति विश्वव्यपी रुपमा कम छ ।
नेपालमा मात्र नभई विश्वका विकसित देशहरुमा समेत विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक छैन ।
युनेस्कोले गरेको अध्ययन अनुसार विश्वभरका वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता सङ्ख्या ३३ प्रतिशत पुगेको छ । यो आँकडा नेपालसँग पनि मेल खाने विज्ञहरु बताउँछन् ।
विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको समान पहुँच र नेतृत्व हुनुपर्ने नेपाली अनुसन्धानकर्ताहरूले बताउँदै आएका छन् ।