सुर्खेत – कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब रुपैयाँभन्दा धेरैको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी/बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो ।
विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ । त्यस्तै तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु पनि निकासी हुने गरेको छ ।
यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाण्डौ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।