मध्यपहाडी लोकमार्गको कास्की–बाग्लुङखण्डमा एक सय ९३ किलोमिटर कालोपत्र

10k Shares

कास्की – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्की–बाग्लुङखण्डको  एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ ।

कुल दुई सय ५० किलोमिटरको खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किलोमिटर र बाग्लुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

पर्वतमा रहेको आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यका अनुसार मालढुङ्गादेखि बाग्लुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किलोमिटर सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ ।

घोडाबाँधेदेखि–हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिनुभयो । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ ।

सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बाग्लुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताउनुभयो । 

सम्बन्धित समाचार