बुढासुब्बा गोल्डकप : फाइनलमा एनआरटि र चर्चब्वाइज भिड्दै

8.7k Shares

धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्चब्वाइज युनाईटेड क्लब काठमाडौंबिच भोलि शनिबार प्रतिस्पर्धा हुने भएकाे छ ।

एनआरटी तेस्रोपटक उपाधि नजिक पुगेको हो भने चर्चब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको हो । एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र  पाहुना टिम युकेएफसि भारतलाई पराजित गरेको थियो । 

चर्चब्वाइजले भने चारपटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटि क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् । 

यस सिजनमा खेलेको अनुभव बुढासुब्बाको फाईनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले आज भएको प्रेसमिटमा बताउनुभयो । यस सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भन्नुभयो । चर्च ब्वाईज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताउनुभयो । 

यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताउनुभयो । 

एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उहाँले बताउनुभयो । एनआरटी राम्रो टिम हो तथापी राम्रो खेलेर टिमलाई उपाधी दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताउनुभयो । धरान रंगशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार