काठमाडौं– सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
हिजो मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जानकारी दिएका हुन् ।
आन्दोलन थालेको ८ दिन बितिसक्दासमेत माग पूरा नभएपछि थप सशक्त रूपमा लाग्नुपरेको उनीहरूको भनाइ छ । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आवासीय चिकित्सकहरू आन्दोलित छन् ।
चरणबद्ध रूपमा आन्दोलन गर्दे आएका उनीहरूले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए भने बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।