नवलपरासी – ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा बनेको कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ ।
सरावल गाउँपालिका–४ गोइनीमा भएको सङ्कलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा त्यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ ।
प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १५ लाखको लागतमा सङ्कलन केन्द्र निर्माण गरेको हो ।
प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ ।