विश्व । ग्रीनल्यान्डकाे सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रको सुरक्षा बढाउने भएको हो । तत्कालका लागि डेनमार्कले ग्रीनल्यान्डको सुरक्षाका लागि २ अर्ब ५ करोड डलर खर्च गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।
डेनमार्क र ग्रीनल्यान्डबीच भएको समझदारीअनुसार उन्नत खालका ३ वटा आर्कटिक जहाज, लामो दूरीका मिसाइल खरिद गरेर तैनाथ गरिनेछ । डेनमार्कका रक्षामन्त्री ट्रोल्स लुन्ड पोल्सेनले आर्कटिक र उत्तरी एट्लान्टिकमा सुरक्षा र रक्षाको सम्बन्धमा गम्भीर चुनौतीहरू देखिएकाले आफूहरूको याे कदम आएको बताउनुभएको छ ।
ग्रीनल्यान्ड ५६ हजार बासिन्दाको एउटा टापु हो, धेरै हदसम्म ग्रीनल्यान्ड स्वायत्त रहे पनि डेनमार्कको हिस्साका रूपमा रहेको छ । २१ लाख ६६ हजार वर्गकिलोमिटर ठूलो ग्रीनल्यान्डमा अमेरिकाले लामो समयदेखि सुरक्षा चासो राखेको छ ।
दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीले डेनमार्कको मुख्य भूमि कब्जा गरेपछि अमेरिकाले ग्रीनल्यान्डमा आक्रमण गरेर यस क्षेत्रमा सैन्य र रेडियो स्टेशनहरू स्थापना गरेको छ । त्यस बेलादेखि यस क्षेत्रमा अमेरिकाको पनि उपस्थिति कायम छ ।