काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको शुभारम्भ गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा दीप प्रज्वलन गरी राष्ट्रपतिले सोनाम ल्होसारको शुभारम्भ गरेका हुन् ।
सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुती ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे ।
सोनम ल्होसार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए ।