दमक– यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पीताम्बर खड्का हिँडडुल गर्न सक्दैनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् ।
सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाइले पैसा कमाएको देख्दा उनलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो ।
उनी र उनी जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपाङ्गता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरूप लिएको छ । समितिले अहिले कमल अर्ग्यानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रूपमा उद्यम सञ्चालनमा छ ।
कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपाङ्गता समितिसँगको समन्वयमा अपाङ्गता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बीउ पुँजीसमेत प्रदान गरेको छ । सो पुँजीबाट ५० जना अपाङ्गता भएकाले व्यावसायिक रूपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पीताम्बर खड्काले जानकारी दिए ।