६ महिनामा बैंकहरूको खराब कर्जामा अधिक वृद्धि

10.8k Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूको खराब कर्जा बढेको छ । चालू आवको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको हो । बैंकहरूको खराब कर्जा पुससम्ममा ६ दशमलव ९६ प्रतिशतसम्म पुगेको छ ।

कुमारी बैंकको खराब कर्जा सबैभन्दा बढी ६ दशमलव ९६ प्रतिशत पुगेको छ । समग्रमा बैंकहरूको खराब कर्जा भने ४ दशमलव ३३ प्रतिशत रहेको छ । गत आवमा बैंकहरूको औसत खराब कर्जाको दर २ दशमलव ९१ प्रतिशत थियो । चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा ३ दशमलव ८५ प्रतिशत कायम भएको छ ।

बैंकहरूले प्रकाशित गरेको चालू आव २०८१–०८२ को ६ महिनासम्मको तथ्यांकअनुसार बैंकहरूको खराब कर्जा औसत १ दशमलव शून्य ६ बिन्दुले बढेर ४ दशमलव ३३ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको पुस मसान्तमा बैंकहरूको खराब कर्जा ३ दशमलव २७ प्रतिशत मात्र थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार खराब कर्जा उच्च भएमा बैंकहरूको वित्तीय अवस्थामै समस्या पैदा गर्छ । नेपाल राष्ट्र बैंकले खराब कर्जाको सीमा ५ प्रतिशत तोकेको छ । ५ प्रतिशतभन्दा माथि पुगेमा लाभांश वितरण गर्न र व्यवसाय विस्तार गर्न पाउँदैन । यस्तो कर्जा धेरै भएमा असुलीमा प्राथमिकता दिनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।

कुमारी बैंककोे गत वर्ष पुस मसान्तसम्म ४ दशमलव ९७ प्रतिशत खराब कर्जा रहेकामा अहिले ४० प्रतिशतभन्दा बढीले वृद्धि भई ६ दशमलव ९६ प्रतिशत पुगेको छ । त्यस्तै, सबैभन्दा बढी खराब कर्जा हुने बैंकहरूमध्ये दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकको खराब कर्जा गत वर्षको तुलनामा २३ दशमलव ३७ प्रतिशतले बढेर ५ दशमलव ८६ प्रतिशत पुगेको हो । त्यस्तै, लक्ष्मी सनराइज बैंकको खराब कर्जा गत वर्षको तुलनामा २१ दशमलव ४१ प्रतिशतले बढेर ५ दशमलव ६७ प्रतिशत पुगेको छ ।

एक वर्षको अवधिमा खराब कर्जा सबैभन्दा बढी वृद्धि हुने बैंकमा एनआईसी एसिया बैंक रहेको छ । यस बैंकको खराब कर्जा गत वर्षको तुलनामा २८७ दशमलव ३९ प्रतिशत बढेर ४ दशमलव ६१ प्रतिशत कायम भएको छ । गत वर्ष पुस मसान्तसम्म एनआईसी एसिया बैंकको खराब कर्जा १ दशमलव १९ प्रतिशत मात्रै थियो । विगतमा एकदमै आक्रामक रूपमा ऋण विस्तारमा लागेको एनआईसी एसिया बैंक पछिल्लो समय भने ऋण असुलीमा समस्या देखिएपछि खराब कर्जा सबैभन्दा बढी भएको बैंकमा पर्न गएको हो ।

खराब कर्जा एकदमै न्यून आउने बैंककै श्रेणीमा पर्ने सानिमा बैंकको पनि खराब कर्जा यसपटक ३ दशमलव २२ प्रतिशत पुगेको छ । खराब कर्जाहरू धेरै हुन गएमा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ ।

अधिकांश बैंकको खराब कर्जा बढ्दा एभरेस्ट बैंकको भने घटेको छ । गत वर्ष शून्य दशमलव ७७ प्रतिशत खराब कर्जा रहेको एभरेस्टले १ वर्षमा शून्य दशमलव ६६ प्रतिशतमा झारेको छ ।

खराब कर्जा वृद्धि भएसँगै अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । एभरेस्टबाहेक १९ वाणिज्य बैंकको खराब कर्जा बढेको छ भने वितरणयोग्य मुनाफा ऋणात्मक छ । जसकारण ६ महिनामा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा गरे पनि वितरणयोग्य मुनाफा ३ अर्ब ७९ करोड ऋणात्मक छ ।

चारवटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ । कुल १४ वटा बैंकको यस्तो खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । बैंकहरूको खराब कर्जामा भएको वृद्धि, कर्जा लगानीमा अपेक्षित विस्तार नहुँदा र खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफामा समेत प्रभाव परेको छ ।

गत आव २०८०–८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकामा यस वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकहरूमा बढिरहेको खराब कर्जा, कर्जा विस्तार र कर्जा असुलीमा समस्या देखिएको समस्याले अर्थतन्त्र संकटोन्मुख छ भन्ने कुराको संकेत गर्छ ।

खराब कर्जा उच्च भएमा बैंकहरूको वित्तीय अवस्थामै समस्या पैदा गर्छ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण रिकभरीमा समस्या हुँदा बैंकहरूको खराब कर्जा उच्च रूपमा बढिरहेको छ ।

धेरै खराब कर्जा हुने लक्ष्मी सनराइज बैंकको अघिल्लो वर्ष पुससम्म ४ दशमलव ६७ प्रतिशत रहेकामा अहिले बढेर ५ दशमलव ६७ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा ५ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४ दशमलव ९० प्रतिशत थियो ।

चालू आवको पुससम्म नौवटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ भने दुईवटाको ३ प्रतिशतभन्दा माथि रहेको छ ।

यसैगरी, पाँचवटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि रहेको छ । सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको रहेको छ । यस बैंकको शून्य दशमलव ६६ प्रतिशत मात्र खराब कर्जा रहेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार