टीआरपीका आधारमा टेलिभिजनमा विज्ञापन दिने तयारी

8.6k Shares

काठमाडौँ । नेपाल विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरूमा विज्ञापन दिने गरी तयारी थालेको हो । 

नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्याङ्क निकाल्न सकेको छैन । टेलिभिजनको टीआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यासको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताए। टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईँको भनाई छ । 

उनले भने, ‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ । संसारभरि टेलिभिजनहरूको भ्युअरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरूमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरूको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ। ’

यस छलफलले टेलिभिजनहरूको टीआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उहाँको विश्वास छ ।  

सम्बन्धित समाचार