४६ केजी मुनिको तौल समूहअन्तर्गत तेक्वान्दोको ग्यारोगीमा स्वर्ण जितेपछि काजल श्रेष्ठले ११ वर्षदेखि साउदी अरबमा रोजगारीमा रहेका बुवा डम्बर श्रेष्ठलाई सम्झिइन् । उनको सफलतालाई आँखैले देख्नेमा आमामात्रै थिइन् । सवारी चालक उनका बाबु साउदी अरबमा वैदेशिक रोगजागरीमा छन् ।
‘मेरो खेल हेर्न ममि आउनु भएको थियो । उहाँले मेरो खेल हेरेको यो नै पहिलो पटक हो । मैले स्वर्ण पदक जितेपछि उहाँ निक्यै खुसी हुनु भयो’ खोजतलास साप्ताहिकसँगको वार्ताका क्रममा काजलले भनिन्,‘खेल्दा शरीर पनि राम्रो र स्वास्थ्य हुन्छ भनेर जिद्दि गर्न थालेपछि मात्रै मलाई ममिले खेल्न दिनु भएको हो ।’
‘कक्षा ८ मा पढ्दा देखि नै म तेक्वान्दो खेलमा लागेको हुँ त्यति बेला मेरो उमेर १३–१४ वर्षको थियो’, २२ वर्षकी काजल अहिले तेक्वान्दोकी परिपक्क खेलाडी भइसकेकी छन् ।
जडिबुटी बस्दा उनको घरै छेउमा रहेको डोजाङमा सेतो कपडा लगाएर खेलेको देख्दाउनलाई पनि खेल्न रहर जागेको थियो रे । ‘म पनि खेल्छुभन्दा मेरी आमाले खेल्न दिनु भएन । मेरी दिदीको एकजना साथी खेलाडी हुनुहुन्थ्यो । उहाँले पदक जित्दा मलाई पनि पदक जित्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्यो । बारम्बर ममिलाई कचकच गर्न थालेपछि ममिले हुन्छ भन्नुभयो अनि म पनि तेक्वान्दो खेल्न सुरु गरें’, काजलले विगत सम्झँदै भनिन्, ‘कौशीमा खेल हुन्थ्यो, मैले पनि छतबाट खेल हेथ्र्ये । ह्या, हु भनेको आवाजविस्तारै मन पर्न थाल्यो ।’
काजल श्रेष्ठले स्वर्ण पदकसम्मको यात्राका लागि कडा चुनौती सामना गर्नुपरेको थियो । काजलले महिला ४६ केजी मुनिको तौल समूहमा पाकिस्तानकी साइद बटुललाई ५०–१४ ले हराएर स्वर्णको यात्रा पक्का गरेकी हुन् ।
काजल श्रेष्ठ तेक्वान्दोको रिंगमा उत्रिनुअघि हतास थिइन् । भारतीय खेलाडीलाई सेमिफाइनलमा हराउँदा पनि आत्मविश्वास आइसकेको थिएन । फाइनलमा पाकिस्तानी खेलाडीको सामना गर्न डर मानिरहेकी थिइन् । उनी डराउनुका दुईवटा कारण थिए । पहिलो, उनको दुवै खुट्टाको जोर्नी अभ्यासका क्रममा ‘फ्याक्चर’ भएका थिए । दोस्रो, पाकिस्तानी खेलाडी उनी भन्दा अग्ली थिइन् ।
‘मेरो दुबै खुट्टा घाइते थिए । हात पनि दुखी रहेका थिए । हातखुट्टा भाँचिए भाँचियोस मलाई स्वर्ण पदक चाहिन्छ भन्ने भयो’ काजलले भनिन, ‘नतिजा आफ्नो पक्षमा पारेपछि एक नम्बर लेखिएको पोडियममा बसेर राष्ट्रिय गान बजाउन पाए राष्ट्रकै नाम रहन्छ भन्ने सोचेर खेल्न सुरु गरें । धेरै स्पीडमा खेल्न थालें । उसको किक ब्लक गर्न थालेँ ।’ पाकिस्तानी खेलाडी साइद बटुलको पनि आत्मविश्वास कम थिएन । तर काजलको टेक्निकल खेलका अगाडि उनको हाइटको केही लागेन ।
‘सागमा स्वर्ण पदक जित्छु भन्ने त लागेको थियो तर रिङमा प्रवेश गर्नु अघि मलाई डर लागेको थियो । पाकिस्तानी खेलाडीसँग चाइन ओपनका क्रममा भेट भएको थियो । उसले त्यहाँ रजत पदक पनि जितेको थियो । मलाई उसको खेलको ट्रिक थाहा थियो’, काजलले भनिन्, ‘मलाई सागमा स्वर्ण जित्न होम ग्राउण्डले पनि साथ दिएको हो । दर्शकबाट नेपाल, नेपाल भनेको सुन्दा जोश आउँथ्यो ।’
१३ औं सागमा तेक्वान्दोमा कुल ३४ नेपाली खेलाडी सहभागी भएका थिए । तीमध्ये १२ खेलाडीले स्वर्ण जिते भने ५ खेलाडीले रजत । त्यस्तै ११ खेलाडीले कास्य पदक हात पारेका थिए ।
तेस्रो डान ब्ल्याक बेल्ट उनी नेपाली सेनामा आवद्ध छिन् । सेनाको विभागिय खेलाडी बनेको पनि साढे तीनवर्ष भइसकेको छ । विभागिय खेलाडी भएपनि व्यारेक नियमित जानु पर्दैन । ‘तालिम गर्ने घर फर्कने हो’, काजलले भनिन् ।
कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी भक्तपुर साँगा बस्छिन् । मध्यम वर्गको उनको परिवारमा एकजना दिदी र एक जना दाइ छन् ।
राष्ट्रलाई स्वर्ण पदक दिएपछि खेलाडीलाई सम्मान दिने क्रममा काजल पनि खेलकुद परिषद्ले ९ लाख रुपैयाँ उपलव्ध गराएको छ । नेपाली सेनाले १ लाख ५० हजार दियो । भक्तपुर जिल्ला समन्वय समितिले सम्मान गरेको छ । मेरो जिल्ला सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले ५० हजार नगदसहित सम्मानित गरेको छ काजलले स्वर्ण पदक जितेपछि पाएका नगद पुरस्कारको फेहरिस्त जानकारी दिँदै भनिन् ।
‘खेल क्षेत्रमा लागेकोमा पछुतो छैन । तेक्वान्दोमा उमेरले छेकवार लगाउँदैन । शरीरले दिएसम्म खेलिन्छ होला । एसियन, ओलम्पिक तथा वल्र्ड च्याम्पियन्स खेल्ने इच्छा छ’, खेल यात्राबारे जानकारी दिँदै काजलले भनिन् ।
‘लकडाउन भएपछि गुरुहरूबाट दिइने प्रशिक्षण रोकिए पनि आफ्नै तरिकाले प्रशिक्षण त गरियो’, काजलले भनिन्, ‘पछि नवीन गुरु, दीपक गुरुले अनलाइन प्रशिक्षण गराउनु भयो । घरमा स्पेश पनिनहुने, हलको जस्तो सुविधा पनि नहुँदा प्रशिक्षण त्यति राम्रो भएको थिए । त्यति बेला फिजिकल फिजनेश जस्तो मात्रै भएको थियो’, उनले भनिन्, ‘लकडाउनका बेला ५ वर्षकी बहिनीलाई सेल्फ डिफेन्स सिकाएँ । मार्सल आर्टसले सेल्फ डिफेन्समा मद्दत गर्छ ।’
‘३ महिना खेल्न नपाउँदा बोधो भएको छ । अहिले झै खेल्न पाए एक महिनामा पहिलेकै अवस्थामा फर्कन्छु होला’, काजलले भनिन् ।