भारतीय अस्पतालमा चिकित्सकको बलात्कार घटनामा रोय दोषी ठहर

11.8k Shares

कोलकाता । भारतको एक अदालतले शनिबार ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको छ ।

गएको अगस्टमा पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । पीडितको रगताम्य अवस्थामा शव फेला परेको थियो । 

घटनापछि सरकारी अस्पतालका चिकित्सकले थप सुरक्षाको माग गर्दै कोलकातामा विरोध प्रदर्शन गरेका थिए । भारतका अरू ठाउँका हजारौँ नागरिक ऐक्यबद्धता जनाउँदै चिकित्सकको विरोध प्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाई अघि बढाइएको थियो । यो मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो ।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्यामा दोषी ठहर गरिएपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन् ।

रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन् । फैसलापछि उनले भने, “मलाई फसाइएको छ ।”

रोयलाई जेलको भ्यानबाट अदालतमा ल्याइएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उनीविरुद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए ।

सम्बन्धित समाचार