पानी पर्नेबित्तिकै बन्द हुनेछ मेचीको ‘लाइफ लाइन’

14.6k Shares

काठमाडौँ - गत असोज दोस्रो साताको अविरल झरीपछि मेची पहाडको ‘लाइफ लाइन’ मेची राजमार्गको राजदुवाली मास्तिरको भाग पहिरोले चुँडायो। झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने सवारीका साधन ठप्प भए। न कुनै भरपर्दाे वैकल्पिक सडक थियो, न आउ–जाउको अरू कुनै माध्यम। दसैंको मुखमा मेची राजमार्ग छिनेपछि हजारौं यात्रुले सास्ती पाए।

यो अनुमानित र सम्भावित जोखिम नै थियो, कसैका लागि नौलो थिएन। किनकि, दशकदेखि कुन बेला ठूलो पानी पर्ला र यो सडक बगेर जाला भन्ने त्रास सबैजसोलाई थियो। करिब दुई सय मिटर राजमार्गमा दर्जनौं ठाउँ धाँजा फाटेको, बर्सेनि दबिने गरेको र मर्मतमा सात करोड रुपैयाँभन्दा बढी खर्चिंदा पनि हालत थियो जस्ताको तस्तै। सुध्रिनुको साटो झन्–झन् बिग्रिरहेको। तर, यतिसम्म हुँदा पनि सडक अड्याउने उपयुक्त प्राविधिक आइडिया फुरेन कसैलाई, बेलैमा यसको विकल्प खोजिएन। र, खोजिएको विकल्प सधैं गुनासो पोखिरहेका उपभोक्तालाई थुम्थुम्याउने ‘ललीपप’ मात्रै बन्यो।

जब, राजमार्ग चटक्क चुँडिएर साना–ठूला सवारीका साधन मात्र होइन, मानिस पैदल हिँड्नसमेत नसक्ने भयो, तब मेची राजमार्गको विकल्प भन्दै आधा दर्जन सडक चहारिए। कतिपय वैकल्पिक सडकमा धमाधम एक्स्काभेटर लगाएर गाडी गुडाउने बनाइयो। एकाएक विकल्पमा धेरै सडक तयारसमेत बनाइए। तर, ती कुनै पनि सडक भरपर्दा थिएनन्, झ्यार्र पानी आउनेबित्तिकै ठप्प भइहाल्ने। सडक अलि राम्रो भएका ठाउँमा बीचमा खोलो पर्थ्यो, त्यहाँ पुल थिएन। केही दिन राजदुवालीमा दिन–रात मर्मत गरियो। ३० मिटरजति नयाँ ट्र्याकसमेत खोलेर राजमार्ग एकतर्फी चालु गरियो। संयोगले त्यसयता पानी परेको छैन अहिलेसम्म। र, त्यही स्थानबाट सवारीका साधन पार गरिरहेका छन्।

राजमार्ग चुँडिएका बेला रमिता हेर्न नेतादेखि कर्मचारी, सरोकारवालालगायत सबै भेला भए। फिल्डमै पुगेका जिल्लाका अगुवा जनप्रतिनिधि र नेताहरूले समेत यो मार्गलाई स्थायी बनाउन वा वैकल्पिक सडक बनाउन सकेसम्म पहल गर्ने प्रतिबद्धतासमेत गरे। मिडियामा ‘भाइरल’ बने उनीहरू। तर, बर्खा लाग्न आँटिसक्दा न कतैबाट थप बजेट आउन सकेको छ, न अब झ्यार्र पानी पर्दा इलाममा कताबाट गाडी आउँछ भन्ने प्रश्नको जवाफ नै छ कसैसँग।

यो ठाउँमा जोखिम यस्तो छ कि, अब यो सडक बगेर जान ठूलो पानी पर्नु पर्दैन। दर्जनौं धाँजा फाटेको र पहिरोले क्षतविक्षत भइसकेको यो खण्डमा अब सानोतिनो पानी परिसक्दा राजमार्ग नराम्रोसँग क्षति हुने सम्भावना आँखाअघि छ। अब राजदुवालीछेउमा पुन: पहिरो जाने हो भने मर्मत गर्न पनि निकै नै जटिल हुने स्वयं इन्जिनियर नै बताइरहेका छन्। पानी पर्ने बित्तिकै गत असोजकै नियति दोहोरिने पक्का झैं छ। र, सम्भावित जोखिम टार्न त्यति बेला खोजिएका वैकल्पिक सडक कुनैले पनि काम दिनेवाला छैनन्। किनभने, वैकल्पिक भनिएका सबै सडक कच्ची छन्, साँघुरा छन्। तीमध्येको फराकिलो सडकको बीचमा खोलो पर्छ, त्यसमा पुल छैन।  

अब बर्खा लाग्न केही महिना मात्र बाँकी छ। यति ठूलो जोखिम सधैं देखेर पनि स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ता, सम्बन्धित सरोकारवाला मौन झैं छन्। चिन्ता छ त स्थानीय उपभोक्तालाई, जसले यो राजमार्ग अवरुद्ध भइहाले सबैभन्दा ठूलो सास्ती खेप्नुपर्छ। उनीहरू दिनहुँ सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट ‘अब बर्खामा इलाममा कतैबाट गाडी आउन नसक्ने’ चिन्ता व्यक्त गरिरहेका छन्।  

इलामका अगुवा गोपाल नेपाल सामाजिक सञ्जालमै नेपाल सरकारका यातायात मन्त्रीलाई सम्बोधन गरी लेख्छन् र इलाम, पाँचथर तथा ताप्लेजुङबाट निर्वाचित सांसदलाई समेत बोधार्थ दिन्छन्, ‘बर्खा सुरु हुनासाथ मेची राजमार्गको अवस्था के होला? बाटो बन्द भएपछि हतार–हतार के–के न गरेजस्तो गरेर सामाजिक सञ्जाल भर्नुभन्दा बेलैमा लागौं। यसलाई लैनो गाई नबनाऔं।’ स्थानीय उपभोक्ता सोम बानियाँ भन्छन्, ‘अब एक झर पानी परिसक्दा झापा र इलामको यातायात सम्बन्ध टुट्छ, यतातिर कसैको ध्यान गएको देखिँदैन। नेतालाई त जति बेला पनि सत्ता कसको हातमा पर्छ भन्नेमात्रै चिन्ता देखिन्छ।’

अर्का उपभोक्ता रोहन राई मेची राजमार्गको स्थायी विकल्प नखोजे इलाम, पाँचथर र ताप्लेजुङका उपभोक्ताले सधैं दु:ख पाउने बताउँछन्। ‘हाम्रो नाङ्गो आँखाले देख्दा राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्गको दुई सय मिटरजति खण्ड अर्बाैं रकम खर्च गर्दा पनि काम दिँदैन,’ उनी भन्छन्, ‘तर, किन काम नलाग्ने, कहिल्यै सुधार्न नसकिने ठाउँमा सरकार करोडौं रुपैयाँ मर्मतका नाममा बगाइरहेको छ? प्राविधिकका आँखा किन यसैमा बजेट बगाउनमात्रै खोजिरहेका छन्? नेता र सडक कार्यालयले चाहेको भए अहिलेसम्म यहाँ भएको खर्चले अर्काे वैकल्पिक सडक नै बनिसक्थ्यो होला त!’  

बेलैमा उपयुक्त विकल्प नखोज्ने हो भने मेची पहाड केही समयपछि यातायात सम्पर्कविहीन बन्दैछ। कि उपयुक्त उपायसहित मेची राजमार्ग मर्मत गर्नुपर्छ, कि वैकल्पिक सडकलाई बाह्रैमास साना र ठूला सवारी साधन चल्ने बनाउनुपर्छ। तर, यी दुवै उपाय पुन: सडक अवरुद्ध नहुँदासम्म निष्कर्षमा पुग्ने सम्भावना देखिएको छैन। बर्खा लाग्न आँटिसक्दा सरकारी ‘प्रक्रिया’ पूरा गर्दागर्दै पुन: राजमार्ग क्षतविक्षत हुने खतरा त्यत्तिकै छ। कार्यान्वयनकर्ता सरकारी निकाय कहिले नेता (सरकार) ले बजेट पठाइदेलान् भनेर पर्खिरहेछन्, नेताहरू सरकारी कार्यालयतिर औंला सोझ्याउँदै छन्। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार