विद्यार्थीलाई लुट्ने र स्कुटर चोर्ने समूह पक्राउ

6.6k Shares
काठमाडौँ । पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए ।
 
त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र स्कुटर चारी गर्ने समूहलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँको म्हेपी पुलबाट दुई जना र काभ्रेस्थलीबाट चार जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा रामेछापको रस्नालु घर भएर ग्राण्डी बस्ने २० वर्षीय प्रकाश तामाङ, काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ छन् । उनीहरूलाई म्हेपी पुल नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
 
त्यस्तै नुवाकोटको लिखु घर भएका २५ वर्षीय संग्राम राई, सुनसरी घर भएका २१ वर्षीय दिपेश लिम्बु, स्याङ्जा घर भएका १६ वर्षीय साहिल क्षेत्री, मकवानपुर घर भएर टोखा बस्ने २७ वर्षीय शम्भु माझीलाई प्रहरीले काभ्रेस्थलीबाट पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो ।
 
स्कुटर चोर्ने र त्यहाँ स्कुटर प्रयोग गरेर उनीहरूले लुटपाट धन्दा चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । मकवानपुरको बागमती घर भएर टोखा नगरपालिका–८ बस्ने शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ । माझीले सो स्कुटर आफूले अरूसँग खरिद गरेको बयान दिएका छन् ।आरोपीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको स्कुटर पनि बरामद गरेको छ ।
सम्बन्धित समाचार