रुकुम पश्चिमको पितिवाङ खोलामा वर्षौदेखि अलपत्र पुल निर्माण कार्य शुरू

6.9k Shares

काठमाण्डौ – वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पितिवाङ खोलामा पुल निर्माण कार्य शुरू भएको छ ।

राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै पुल निर्माण शुरू भएको हो ।

यसअघि निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनले समयमा काम सम्पन्न नगरेपछि नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।

संरक्षण निर्माण सेवा र सडक डिभिजन कार्यालय चौरजहारीबीच दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७६ असार ८ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार संरक्षण निर्माण सेवाले काम सम्पन्न नगरेपछि गएको मङ्सिरमा यति बिल्डर्सले पुल निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इञ्जिनियर तेजस्वी शर्माले जानकारी दिनुभयो ।

पाँच करोड २८ लाख रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको हो । यसअघिको निर्माण कम्पनीले पुलको एकतर्फी पिलर मात्र उठाएर अलपत्र छोडेको थियो ।

नयाँ कम्पनीले जिम्मा लिएसँगै दुवैतर्फ पिलर उठाएर ढलानको तयारी भइरहेको इञ्जिनियर शर्माले बताउनुभयो । उहाँका अनुसार पुल सिङ्गल स्पानको ३५ मिटर लामो रहनेछ ।

चालु आर्थिक वर्षभित्र सबै काम पूरा गरेर गाडी आवतजावतको व्यवस्था गरिने निर्माण कम्पनीका सञ्चालक भीमराज केसीले जानकारी दिनुभयो ।     

 

सम्बन्धित समाचार