भक्तपुर – तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि हरेक वर्ष माघ १ गते मनाउँदै आइएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार जना भिक्षुलाई महादन गरिने भएको छ ।
सम्यक महादान व्यवस्थापन सहयोग समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ को जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
पाँच दीपङ्कर बुद्धका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभिन्न परिकार दान दिने र पाँच दीपङ्करको परिक्रमा गराई पूजासमेत गरेर मनाइने उहाँले बताउनुभयो ।
भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुर्ब्रह्म महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यका नाममा दीपङ्कर बुद्धलगायत विहारका सङ्घ सदस्यहरूलाई निमन्त्रणा गरेर सम्यक भोजन दान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको बताउनुभयो ।
सम्यक दानमा परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्य बन्दहरूलाई भोजन, अन्न दक्षिणा दिइने चलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।
यस वर्ष सम्यक दान पर्व मनाउने पालो सप्तचन्द्र बज्राचार्यलगायत परिवारको रहेकाले जयकीर्ति महाविहारमा एक हप्ताअघिदेखि नै बसोवास गरी पर्वका लागि आवश्यक पर्ने विशेष प्रकारको पुरी, लड्डुलगायत अन्य सामग्रीको व्यवस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताउनुभयो ।