काठमाडौँ - नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेव गौतम अहिले कुनै पार्टीमा छैनन्। उनले विगतमा आफ्नै पार्टी घोषणा नगरेका पनि होइनन् तर त्यो अहिले अस्तित्वमा देखिन्न। जान चाहेका पार्टीमा पनि उनको उपस्थिति कमजोर हुने अवस्था छ।
नेकपा विभाजित हुँदा तटस्थ बसेर पार्टी मिलाउन लागेका गौतमले अन्ततः नयाँ पार्टी घोषणा गरी आफ्नो पूर्वपार्टी एमाले र एमालेबाट विभाजित भएर पूर्वसहकर्मीले निर्माण गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जान बार्गेनिङ गरिरहेका छन्। तर दुवै दलका नेताहरूले उनलाई खास महत्त्व दिइरहेका छैनन्। गौतमले यतिबेला एमालेमा जाने कि एसमा भन्ने निधो गरिसकेका छैनन्। उनी चौबाटोमा उभिएर कता जाने भनेर अलमलमा छन्। उनलाई एमाले र नेकपा एसले पनि झट्ट लिइहाल्न सकेका छैनन्।
विगतमा राजनीतिका प्रभावशाली खेलाडी रहेका गौतम बेलाबखत फरक मत र फरक निर्णयका कारण चर्चाको शिखरमा पुग्ने गरेका थिए। तर उनी त्यो चर्चाले मूर्तरूप लिन नपाउँदै अलमलिने गरेका थिए। उनको राजनीतिक जीवन उतारचढावमै बढी केन्द्रित छ। समकालीन राजनीतिको विभिन्न कालखण्डमा कुनै न कुनै हिसाबले सधैं चर्चामा रहिआएका वामदेव अहिले पनि बेलाबेलामा चर्चामा आउने गरेका छन्।
२०७७ पुस ५ मा संसद् विघटन भएपछि बिहान एउटा विज्ञप्ति जारी गरेर आफू पर्ख र हेरको नीतिमा रहेको बताउने वामदेवले त्यही दिन दिउँसो १२ बज्दा विघटनको खुलेरै विरोध गरेका थिए। तर उनी कुनै समूहमा सहभागी भएनन्।
पहिला एउटा विज्ञप्ति जारी गर्ने र माहोल फरक पर्दै गएपछि अर्कातर्फ मोडिने उनको व्यवहार अहिले पनि बदलिएको छैन। नेकपा एसमा कुरा मिलिसक्दा एमालेले निलो बत्ती झिलिक्क पारेपछि उनी उतै लोभिएका छन्। तर कतै पनि निर्णय गर्न नसक्नु उनको पुरानै बानी हो।
वामपन्थीबिच टुटेको एकतालाई पुनः सार्थक पार्ने भन्दै नेकपा पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका थिए। सुरुमा तीन सयभन्दा बढी केन्द्रीय सदस्य बनाइएको उक्त अभियानमा अहिले जम्मा ७२ जना मात्र छन्।
सर्वोच्च अदालतले नेकपालाई भंग गरेर एमाले र माओवादी केन्द्रकै रूपमा क्रियाशील भई पुनः एकताको प्रस्ताव लैजान आदेश दियो। त्यसपछि वामदेवको अभियानको नामबाट नेकपा हटेर नेकपा एमाले पार्टी एकता राष्ट्रिय अभियान रहन पुग्यो। पहिला माओवादीसहितको एकता गराउँछु भनेका उनले पछि एमालेबिच आएको फाटोलाई साम्य बनाउने घोषणा गरे। एकता अभियानका नाममा उनले केपी ओली र माधव नेपालसँग बेग्लाबेग्लै भेटेर पहल गरे तर दुवैले मानेनन्।
माधव नेपालले २०७७ फागुन पहिलो साता ललितपुरको सानेपामा आयोजना गरेको आफू पक्षको राष्ट्रिय भेलामा बोलाए तर गएनन्। त्यतिबेला पनि एमाले मिलाउँछु भनेरै उनी लागिरहे। तर उनको समूहमा रहेका नेताहरूले आफ्नो राजनीतिक भविष्य खोज्दै लाखापाखा लाग्ने संकेत गरेका थिए।
त्यही क्रममा पत्नी तुलसी थापा एमालेका तर्फबाट समानुपातिक सांसद थिइन्। उनीचाहिँ एमालेकै रूपमा क्रियाशील रहिन्। कतै केही सीप नलागेपछि केपी ओलीसँग पार्टीमा भूमिका माग गरे। ओलीसँग भेटेर कुराकानी गरे पनि जिम्मेवारी भूमिका पाउने विषय त टाढाको कुरा पार्टीमा ल्याउने संकेत पनि वामदेवले पाएनन्। त्यसपछि २०७७ भदौमा माधव नेपालले नयाँ पार्टी खोलेपछि निर्वाचन आयोगले एमाले सांसदहरूलाई रुचाएको दलमा सनाखत गर्ने मौका दियो।
वामदेवले पत्नी तुलसीलाई माधव नेपालको पार्टीमा सनाखत गर्न पठाए तर कार्यालय समय सकिएपछि पुग्नाले उनले सनाखत गर्न पाइनन्। त्यसपछि उनी एमालेमै रहिन्। अहिले उनी कुन पार्टीमा छिन् भन्नेबारे न वामदेवलाई थाहा छ न एमालेलाई।
माधव नेपालको पार्टीमा प्रवेश गर्न वामदेवले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको दस्ताबेज निर्वाचन आयोगमा दर्ता गरे आफू उक्त पार्टीमा सामेल हुने बताए। तर झलनाथ खनालले जबजको सान्दर्भिकता समाप्त भएको भन्दै वामदेवको बाटो रोकेपछि त्यहाँ पनि हाम फाल्न सकेनन्।
विभिन्न चरणमा नेकपा एससँग भएको छलफल सफल नभएपछि ६ महिनाअघि एमाले मुख्यालय च्यासलमै पुगेर केपी ओलीका नाममा सम्बोधन गर्दै उनले भने, ‘मलाई पार्टीमा काम दिनुस्, बस्ने टेबुल कुर्सी दिनुस्।’
ओलीले वामदेवको आग्रहलाई सुनेको नसुन्यै गरे। फेरि नेकपा एससँगै कुराकानी चल्यो। नेपालले जबजका विषयमा वामदेवको कुरासँग आफ्नो विमति नरहेको बताए। पछिल्लो एक महिना गौतमको पार्टी एकता राष्ट्रिय अभियानलाई नेकपा एसमा एकता गराउन वार्ता जारी छ तर कुरा मिलेको छैन। वामदेवले वरिष्ठ नेतासहित संगठन विभागको प्रमुख मागेका छन्। अध्यक्ष नेपालले वरिष्ठ नेता दिइसके, संगठन विभाग दिन माानेका छैनन्।
यता एमालेको केन्द्रीय कमिटी बैठकले पनि पार्टी छोडेर गएका नेताहरूलाई पर्कन आग्रह गरेको छ। वामदेव गौतम मौन छन्। अहिले वामदेव गौतम पुनः कहीँ कतै सक्रिय भएर पार्टी बनाउने देश बनाउने अभियानको भूमिकाको खोजीमा छन्।
कुनै बेला वामदेव गौतमका भाषणले एमालेका कार्यकर्ता निकै उत्साहित हुन्थे। पार्टीभित्र पनि उनी हक्की स्वाभावका नेताका रूपमा चिनिन्थे। पार्टीको आन्तरिक बैठकमा अरू नेताहरूले बोल्न नसक्ने, फरक विचार राख्न नसक्ने अवस्थामा पनि उनीहरूको प्रतिनिधित्व गर्ने आँट उनकै थियो।
कुनै पनि निर्णय गर्न–गराउन सक्ने नेताका रूपमा उनले परिचय बनाएका थिए। २०६२/६३ सालमा माओवादीसँग सहकार्य गर्ने हिम्मत वामदेव गौतमले नै गरेका हुन्। तत्कालीन समयमा केपी ओलीले माओवादीको विरोध गर्दागर्दै उनी माओवादीसँग नै वार्ता गर्न रोल्पासम्म पुगेका थिए। यसले पछि सकारात्मक परिणाम पनि ल्याएको थियो। तर तिनै वामदेव गौतम अहिले न एमालेमा छन् न एमालेबाट बाहिर रहेको नेकपा एसमा छन्, न त उनी माओवादी केन्द्रकै हुन सकेका छन्।
तत्कालीन माले कालमा वामदेव पञ्चालयकालमा नारायणी पश्चिमको तराईमा हलीको भेष धारण गरेर भूमिगत संगठन गरेका नेतालाई अहिले एमालेले साथमा राख्न सकेन भन्ने देखिएको छ। तर उनी नै एमालेका बस्न नचाहेका हुन् वा पछिल्लो परिस्थितिमा एमालेले उनलाई लिन नचाहेको हो भन्ने अवस्था देखिएको छ। वामदेवनिकट नेताहरू यतिबेला नेकपा एसमै बढी क्रियाशील छन्। केशवलाल श्रेष्ठ, बलराम बाँस्कोटा, सावित्रा भुसाल, हरि पराजुली, किसान महासंघका रहेका सबै नेता नेकपा एसमा छन्।
पत्रकारहरूको संगठनका अध्यक्ष विश्वमणि सुवेदी पनि नेकपा एसमै छन्। उनी लामो समयदेखि वामदेवकै प्रेस हेर्ने गर्थे। वादेवको सचिवालयमा रहेका तर एमालेतिर रहेका विजयविराज विष्ट प्युठान जिल्लाको दोस्रो कार्यकालको अध्यक्ष भएका छन् भने कुनै बेला वामदेवसँग निकट रहेका सूर्य थापा पनि अहिले प्युठानबाट एमालेका चर्चित सांसद हुन्। विगतमा उनीनिकट रहेका सबैजसो कार्यकर्ता दुवैतिर बाँडिएका छन्। तर पनि दुवै पार्टी उनका लागि घरको आँगन टाढा भनेजस्तै भएका छन्।
२०५१ सालमा एमालेले नौ महिने सरकार चलाएका बेला केन्द्रीय संगठन हाँकेका गौतमलाई त्यसबेला एमालेभित्र कुशल संगठक पनि मानिन्थ्यो र त्यसबेला पश्चिम तराईमा उनी लोकप्रिय नेताका रूपमा परिचित थिए। उनलाई एमालेले त्यतिबेला विधानमै नभएको व्यवस्था गरेर उपमहासचिवको जिम्मेवारी दिएको थियो। त्यही बेलादेखि पार्टी सत्ता र सरकारमा शक्ति देखाउनुपर्ने सोचेका वामदेवको महत्त्वाकांक्षा बढ्दै गयो।
संगठनमा राम्रो पकड राखेका वामदेव गौतम २०५४ सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि पार्टीभित्र र बाहिर उनको चर्चा चुलिँदै गयो। त्यही बेला एमालेको छैटौं महाधिवेशन भयो। त्यसपछि तत्कालीन महासचिव माधव नेपालले हालका पार्टी अध्यक्ष ओली र वामदेवलाई फरकफरक राजनीतिक प्रतिवेदन पेस गर्न दिएर दुवैलाई भिडाएपछि परिणामतः पार्टी नै विभाजन हुन पुग्यो। २०७४ सालको स्थानीय निकायको चुनावबाट सबैभन्दा ठुलो दल बनेको एमाले फुट्यो। आजको नागरिक दैनिकबाट