झापा । झापामा ट्राफिक प्रहरीको असुलीले सीमा नाघेको छ । उनीहरूको असुली धन्दा देख्दा लाग्छ कि पैसा कमाउनकै लागि यहाँ सरूवा भएर आएका हुन । ट्राफिक प्रहरी अगाडि पर्याे कि अब घुष नदिई उम्कने अवस्था छैन भन्ने सोचे हुने अवस्था आएको छ । ट्राफिक प्रहरीको यो असुली धन्दाको बारेमा इटहरी स्थित ट्राफिक प्रमुख मात्रै नभएर प्रदेश प्रहरी प्रमुख कहाँ समेत धेरै उजुरी र गुनासोहरू पुगेपनि कुनै सुनुवाइ नभएको यातायात व्यवसायीहरू बताउँछन् । अहिले भर्खरै सरूवा भएर आएका डिआइजी राजन अधिकारीले ट्राफिक प्रहरीको यो असुली धन्दा रोक्न सक्छन् या सक्दैनन् त्यो भने हेर्न बांकी नै छ ।
ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ । ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गर्ने गरेका छन् । मातहतको बिट, यातायात संघ, र सवारी चालक अनुमति पत्र लागि लिइने ट्रायल परीक्षामा सहभागीलाई पास गराई समेत रकम असुल्दै आएको पाइएको छ । झापाका ट्राफिक प्रहरी प्रमुखलाई बुझाउनुपर्ने भन्दै उनीहरूले काँकडभिट्टाको ट्राफिक बिटबाट मासिक २५ हजार, चारआली बिटबाट २० हजार, बिर्तामोडको नयाँ बसपार्कबाट १५ हजार रुपैयाँका दरले रकम असुल्ने गरेका छन् । त्यस्तै बुधबारे बिटबाट ३० हजार, सुरुङ्गा बिटबाट २० हजार, केर्खा बिटबाट १५ हजार, दमकबाट १५ हजार, गौरादह बिटबाट १५ हजार रुपैयाँका दरले रकम असुल्ने गरेका छन् । यी सबै रकम ती बिटहरूले समेत सवारी साधनवालाहरूसँगै असुलेर जिल्लामा पठाउने गरेको छन् । यसका अतिरिक्त एस्काभेटर, ब्याक्हो लोडर, ट्याक्टर लगायतका हेभी सवारीको ट्रायलमा पास गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको छ । त्यस्तै झापाका सडकमा दैनिक कुद्ने ट्याक्टर, ट्रिपरलाई ओभर लोड गरेको, भारी नछोपेको बाहानमा दैनिक १ हजार जरिबाना गर्ने गरेका छन् ।ट्याक्टर र ट्रिपरले मासिक ५ हजार रुपैयाँ ट्राफिकलाई बुझाएपछि केही मतलब हुँदैन ।
कृषि प्रयोजनका लागि अनुदानमा भित्रिएका ट्याक्टरलाई निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिँदा ट्राफिक प्रहरीलाई मालमाल हुने गरेको छ ।निर्माण सामग्री ओसार्ने ट्याक्टरबाट ट्राफिक प्रहरीले मासिक रकम असुल्ने गरेको व्यवसायी बताउँछन् । ट्याक्टरको क्षमतालाई डेढा बनाएर सामग्री बोक्न दिएबापत ट्राफिक प्रहरीले मासिक रकम असुल्ने गरेको स्रोतको भनाइ छ ।यसैगरी पूर्वाञ्चल ट्याक्सी संघबाट मासिक ५० हजार, सगरमाथा, सूर्योदय यातायातका व्यवसायी सङ्गठनबाट प्रतिबस मासिक २ हजार ५ सय रुपैयाँ लिने गरेका छन् । मासिक पैसा बुझाएपछि त्यस्ता सार्वजनिक सवारीलाई मनपरी गर्न दिइने गरेको छ । सोही अनुरूप त्यस्ता सवारीसाधनले झापाका सडकमा ओभर स्पिड कुदाउने, जथाभाबी यात्रु चढाउने र ओराल्ने गर्दै आएको देख्न सकिन्छ ।