सुनखानी साङ्बा सडक कालोपत्रे

9.3k Shares

चरीकोट। बागमती प्रदेश सरकारको लगानीमा दोलखामा २ सडक योजना कालोपत्रे गरिएको छ । जिल्लाको कालिन्चोक गाउँपालिकामा सुनखानी साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

भौगोलिक रूपमा विकट रहेको कालिन्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सो सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिन्चोक गाउँपालिकाका ५ वटा वडा र बिगु गाउँपालिका आवतजावत गर्न स्थानीयहरूलाई सहज भएको हो ।

त्यसैगरी प्रदेश सरकारकै लगानी चरीकोट देउराली करिब ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकहरूलाई सहज हुने भएको हो । सोही सडक हुँदै देउरालीदेखि कालिन्चोक पुग्ने बाँकी सडक खण्डसमेत निर्माण धमाधम भइरहेको छ । सो सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक मुडे हुँदै शैलुङ आवजावत गर्न सहज हुने भएको छ । 

सडक कालोपत्रे भएसँगै कृषि उत्पादनले मुख्य क्षेत्र मानिने शैलुङ गाउँपालिका उत्पादन गरिएको आलु, काउली किवी सहजै बजार पुर्‍याउन सकिने भएपछि किसानहरू खुसी भएका छन् । तामाकोसी गाउँपालिकाको भिरकोट हुँदै झुले छौडे जाने सडक ढलान गर्ने कार्य धमाधम भइरहेको छ। 

लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ भने सोही सडक खण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । त्यस्तै, जिरी–ठोसे शिवालय सडक पनि कालोपत्रेको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा नै दोलखामा कार्यालय स्थापना गरिएको थियो । 

कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटकपटक ताकेता गरेर निमार्ण सुरु गराईउएको कार्यालय प्रमुख ओझाले बताउनुभयो। उहाँले भन्नुभयो, "प्रदेश सरकारका लगानीमा ग्रामीण क्षेत्रका सडकहरू पनि स्तोरोन्नती र ढलान कार्य धमाधम भइरहेको छ ।" 

त्यसैगरी जिल्लाका विभिन्न स्थानमा २५ मिटर लामो तिन वटा पक्की पुल निमार्णाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सडकलाई पहिलो प्राथमिकता दिँदै अघि बढेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गर्दै आएको बताउँदै मन्त्री काफ्लेले विभिन्न दर्जनौँ आयोजना सञ्चालनमा रहेको बताउनुभयो ।

सम्बन्धित समाचार