काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा फोहोर भरिएको छ । लामो समयसम्म नुवाकोटकै बन्चरेडाँडाको ल्याण्डफिल साइट तयार नहुँदा यस्तो अवस्था आएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन् । बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सकिने मेयर शाक्यले बताएका छन् ।
शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको जानकारी दिए । ‘‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,” शाक्यले भने, ‘‘त्यही कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौँ ।” उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,” उनले भने, ‘‘अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएका थियौँ । अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौँ । बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।”
मेयर शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिए । ‘‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौँ,” उनले भने, ‘‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ । मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको सडक विभागसँग सहकार्य गरिरहेका छौँ ।”
काठमाडौं महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि गत वर्ष नै बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिन हुने जानकारी मन्त्रालयलाई गराएको बताए । ‘‘तर उहाँहरुले यो वर्ष बञ्चरे डाँडामा फोहोर जाँदैन, सिसडोलमै व्यवस्थापन गर्नुहोस भनेपछि हामीले गतवर्ष सिसडोलमै फोहोर व्यवस्थापन गरेका थियौँ,” उनले भने, ‘‘हामीले यो वर्ष सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिन्न । बञ्चरे डाँडामा जानुको विकल्प छैन भनेर पटक–पटक भन्यौँ, छलफल पनि भयो । यद्यपि, कोभिडका कारण निर्माण सम्पन्न गर्न ढिलाई भएकाले थप समस्या भयो ।”
उनले वर्षाका कारण सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप समस्या भएको जानकारी दिए । ‘‘अहिले काठमाडौंको फोहोर व्यवस्थापन नै नभएको होइन । तर, फोहोर व्यवस्थापन गर्नु पर्ने ठाउँमा पुग्न करिब चारसय मिटर फोहोरमाथि बनेको सडकबाट जानु पर्छ । नियमित झरीले गर्दा त्यो सडक भासिने भएपछि फोहोर बोकेर गएका ट्रकहरु ठाउँमा पुग्न सकेका छैनन्,” श्रेष्ठले भने, ‘‘सामान्य अवस्थामा दैनिक १५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि व्यवस्थापन हुँदै आएको छ । यही कारण सहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको छ ।”
सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताउँछन् ।