काठमाडौं । नेपाली कांग्रेसको १८ भदौमा देशभर एकसाथ वडा अधिवेशन हुन नसक्ने निश्चितजस्तै देखिएको छ ।
“विवाद प्रतिवदेन कार्यान्वयन गराउन बनेको कार्यदलभित्र पनि विवाद छ, नाम हटाउने र राख्ने विषयमा हामीभित्र गहिरो मतभेद छ,” एक सदस्यले भने, “भोलि नै सबै समस्या समाधान भइहाल्छ भन्ने यथेष्ट आधार नै छैन ।”
देशभर रहेका ६ हजार ७ सय ४३ वडामा वडासम्मै कांग्रेसको संगठन रहेको छ ।
आशंकाकै बीच नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको क्रियाशील विवाद समाधान समितिको शनिबारको बैठकमा वडा अधिवेशन २२ गतेसम्मलाई सार्ने विषयमा छलफल भयो ।
बैठकमा रिले अनशनमा बसेका जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नुपर्ने जोड समिति सदस्य डा. मिनेन्द्र रिजालको थियो ।
भदौ १८ बाट गर्ने भनिएको पार्टीको वडा अधिवेशन २२ सम्म सार्नुपर्ने समिति संयोजक सिटौला र सदस्य डा. रिजालको प्रस्ताव अर्का सदस्य रमेश लेखकले अस्वीकार गरेपछि सहमति जुट्न नसकेको हो ।
अनशनमा बसेका पौडेल निकटस्थ जिल्ला सभापतिहरुको चाहनाअनुरुप बैठकमा अधिवेशन सार्ने प्रस्ताव भएको थियो ।
१८ मा वडा अधिवेशन सुरु नभए पार्टीको वैधानिकता गुम्ने भन्दै प्रस्ताव अस्वीकार गरिएको थियो ।
संस्थापन निकट एक केन्द्रीय सदस्य अधिवेशन रोक्ने पौडेल समूहको डिजाइनमा धक्का पुगेको तर्क गर्छन् । “अब त शेरबहादुरले जसरी पनि अधिवेशन गरेर पार्टी खाने भयो भन्ने भय विशेषगरेर रामचन्द्र दाइमा थियो, त्यसैले महाधिवेशन रोक्ने अनेक फण्डा भइरहेको छ,” उनको तर्क थियो ।
झापा जिल्ला सभापति उद्धव थापाले १८ भदौमा वडा अधिवेशन हुन नसक्ने बताए । वडा अधिवेशन सरेर २२ गते पु¥याउनुपर्ने थापाको तर्क थियो ।
अधिवेशन गर्नका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत सुवोधबाबु चिलवाल सोमबारसम्म झापा आइपुग्ने आफूले सुनेको थापा बताउँछन् । “एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला भए पो सम्भव हुन्थ्यो होला,” थापाले भने, “१ सय ३१ वटा वडा भएको हाम्रो जिल्ला ठूलो छ, सबै वडामा तोकिएकै मितिमा खै म चाहिँ अधिवेशन सम्भव देख्दिन ।”
चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ मौसम र कोभिड प्रभाव नपारे वडा अधिवेशन आफूहरु गर्न तयार रहेको बताउँछन् ।
९८ वटा वडा रहेको जिल्लामा सोमबार निर्वाचन अधिकृतसँग बैठक बसेर अधिवेशनको वातावरण सिर्जना गर्ने श्रेष्ठको भनाइ छ । “बाढी पहिरो प्राकृतिक प्रकोप र कोभिड भए छुट्टै कुरा, नभए अधिवेशन रोकिँदैन,” श्रेष्ठ भन्छन् ।
१८ भदौबाट हुने वडा अधिवेशनका लागि निर्वाचन अधिकृतहरु जिल्ला जाने क्रम सुरु भएको छ ।
शनिबारसम्मा महादेव यादव संयोजकत्वको निर्वाचन समितिले ५३ जिल्लाको निर्वाचन अधिकृत तोकिसकेको छ । पार्टीले समितिलाई ५३ जिल्लाको क्रियाशील सदस्यताको सूची बुझाएसँगै निर्वाचन अधिकृतहरु तोकिएका हुन् ।
समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार तोकिएका निर्वाचन अधिकृतहरु आइतबारबाटै जिम्मेवारी पाएअनुसारका जिल्ला जाने क्रम सुरु भएको छ ।
“पार्टीले जति सूची दिन्छ हामीले त्यहीअनुरुप जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने हो,” उनले भने ।
श्रेष्ठका अनुसार पार्टीले जतिसक्दो चाँडो क्रियाशीलको अन्तिम सूची उपलव्ध गराउँछ उति चाँडो अधिवेशनका लागि निर्वाचन प्रकृया अघि बढ्छ ।
“अहिलेसम्म हेर्दा ५३ जिल्लाको वडा अधिवेशन हुन अब बाधक कोही पनि छैन, बाँकी जिल्लाको अधिवेशन गराउन पार्टीले सूची दिनुपर्छ,” उनले भने ।
सर्लाही जिल्लाका पूर्वसभापति लक्ष्मण राय निर्वाचन समितिले १० दिनको समय पाएमात्र अधिवेशन गराउन सक्ने बताउँछन् ।
“हाम्रो जिल्लाको क्षेत्र नम्बर २ को विवादका विषयमा बल्ल आज निर्णय गर्लान् भन्ने सुनेको छु,” उनी भन्छन्, “ अनी कहिले क्रियाशील सूची सार्वजनिक गर्नु, निर्वाचन अधिकृत तोक्नु कहिले हो, त्यहाँ निर्वाचन अधिकृत पुग्नेवित्तिकै अधिवेशन भइहाल्छ भन्ने पनि त छैन ।”
अधिकृतहरु जिल्ला पुगेपछि नेतृत्वसँग बैठक बस्नुपर्ने, प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्नुपर्ने जसका लागि भ्रातृ संस्था शिक्षक संगठनसँग बैठक बस्नुपर्ने, पत्र दिनुपर्नेलगायतका प्राविधिक काम गर्न पनि समय लाग्ने भएकाले बोलेजस्तो सहजै अधिवेशन नहुने रायको तर्क छ ।
नेतृत्व भन्छ– अधिवेशन सर्दैन
सहमहामन्त्री प्रकाशशरण महतले भने १८ भदौबाट हुने वडा अधिवेशन नरोकिने बताए ।
नेतृत्वले १८ गतेका लागि तय भएको कार्यतालिकामा अलिकति पनि तलमाथि नगर्ने भन्दै उनले निर्वाचन अधिकृतलाई सम्पूर्ण अधिकार दिएकाले अधिवेशन हुन नसकेको वडामा कहिले गर्ने भन्ने निर्णय निर्वाचन समिति र मतदान अधिकृतलाई भएको महतको भनाइ छ ।
तोकिएको मितिमा अधिवेशन हुनेमा ढुक्क हुन महत आग्रहको छ ।
“धर्नामा बसेकाहरुले भनेर अधिवेशन सर्ने हो र ? निर्वाचन अधिकृतहरुले जिम्मेवारी लिएर जिल्ला गइसके,” महतले भने, “१८ गते सम्भव नभएको ठाउँमा निर्वाचन अधिकृतहरुले जहिले गराउँछन् त्यही दिन हुन्छ ।”
केन्द्रीय सदस्य गुरु घिमिरे बाँकी रहेका २४ जिल्लाको क्रियाशील सूची आइतबार बेलुकीसम्म सार्वजनिक भएमात्र १८ गते सम्भावना देख्छन् ।
सहमतिअनुसार ६ हजार ७ सय ४३ वडामा एकसाथ अधिवेशन गर्ने हो भने २२ भदौमा अधिवेशन हुने घिमिरे बताउँछन् ।
“एकचौटी गरे २२ भदौ नै विकल्प हो,” घिमिरे भन्छन्, “५३ जिल्लाको १८ गते गरेर बाँकी रहेका २४ जिल्लाको ४ दिन पछि गर्न सकिने विकल्प पनि छ ।”