काठमाडौं । जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यसँग सम्बन्धित अस्पताल लगायतका कार्यालय मात्र खुल्ला भएको बेलामा नेपाल प्रहरीले बिहीबार लत्तापकपडा खरिदको टेण्डर सूचना निकालेको छ ।
प्रहरीले मागेका सामान ठेकेदारले विदेशबाट ल्याउनुपर्ने र गुणस्तर परीक्षणका लागि पनि भारत वा अन्य देशमा पठाउनुपर्ने हुन्छ । तर यो महामारीमा विदेशबाट ब्यापारीले सामान ल्याउन सहज छैन । गुणस्तर परीक्षणका लागि पठाउन पनि त्यति सहज छैन ।
यस्तो बिषम परिस्थितिमा बोलपत्र पेश गरिहाले पनि सामान ल्याउन सक्ने अवस्था छैन । ल्याए पनि गुणस्तर टेष्टमा कसरी पठाउने भन्ने अर्को समस्या छ । कोभिड १९ का कारण आन्तरिक र बाह्य दुवै उडान बन्द छन् । तर प्रहरीले भने कोरोनाको यो महामारीमा पनि टेण्डर सूचना निकालेर गाईजात्रा प्रदर्शन गरेको छ । स्मरण रहोस्, सेनाले डीएमएस बुट, ट्रयाकसुट लगायतका लत्तापकपडाको ठेक्काका लागि सार्वजनिक सूचना निकाले पनि कोरोना महामारीका कारण आपूर्ति नहुने स्थिति देखिएपछि केही दिनअघि टेण्डर रद्द गरिसकेको छ ।
प्रहरीले निकालेको टेण्डर सूचनामा ऊलन सर्ट ६० हजार मिटर, ऊलन पाइन्ट २९ हजार मिटर, पीटी सुज ४० हजार जोर मागिएको छ । त्यस्तै रुकस्याग ब्याग ७ हजार थान, मस्क्वीटो नेट(झुल) २० हजार थान, ब्यारेट क्याप २६ हजार थान, टपबुट ११ सय जोर, ब्ल्याक बेल्ट अफ लेदर ५ हजार थानका लागि बोलपत्र सूचना निकालिएको छ । तर प्रहरीका लागि सबैभन्दा बढी आवश्यक पर्ने चुस्ता टेण्डरमा उल्लेख छैन । बोलपत्रदाताले २०७७ असोज ११ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ ।
चुस्ताको मापदण्ड परिवर्तन गर्दै प्रहरी
वर्तमान आइजीपी शैलेश थापा आएपछि नेपाल प्रहरीको चुस्ताको मापदण्ड(स्पेसिफिकेसन) परिवर्तन गर्ने निर्णय गरेका छन् । नेपाल प्रहरीको चुस्ताका बारेमा राम्रो नभएको धेरै गुनासो आइरहेकाले स्पेसिफिकेसन परिवर्तनको निर्णय स्वभाविक मानिएको छ । उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा नेपाल प्रहरीको स्पेसिफिकेसन परिवर्तन गरेको थियो । चुस्ता गुणस्तरहीन भएको गुनासो आएपछि स्पेसिफिकेसन परिवर्तन गर्न खोजे पनि त्यसका लागि एक कमिटी बनाउनुपर्नेमा अहिलेसम्म बनाइएको छैन । चुस्ता चेन्ज त गर्ने तर कस्तो किन्ने त ? त्यसका लागि कमिटी बनाउनुपर्ने हुन्छ । यसअघि कमिटी बनाएर मात्र स्पेसिफिकेसन परिवर्तन हुँदै आएको छ । सेनाले पनि कमिटी बनाएर मात्र यसअघि गौरब शमशेरको पालामा चुस्ताको स्पेसिफिकेसन परिवर्तन गरेको थियो ।
प्रहरीले चुस्ताको स्पेसिफिकेसन कस्तो बनाउने भनेर टेक्सटाइल इन्जीनीयरको संयोजकत्वमा टेक्सटाइल ब्यवसायीसहितको प्रबन्धका डीआइजी सदस्य सचिव रहेको कमिटी गठन गर्नुपर्नेमा गरिएको छैन । ठेकेदारको चाहना अनुसार चुस्ताको स्पेसिफिकेसन परिवर्तन गर्ने खेल भइरहेको छ । प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयका निमित्त प्रमुख एसएसपी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतको डिजाइनमा ठेकेदारको चाहनामा चुस्ताको स्पेसिफिकेसन परिवर्तन लागिएको प्रहरी स्रोतको दाबी छ । स्पेसिफिकेसन परिवर्तन गर्न लागेकै कारण बिहीबार निस्किएको प्रहरीको टेण्डर सूचनामा चुस्ता, कटन सर्ट र कटन पाइन्ट मागिएको छैन । देशभरका प्रहरीका लागि करिब १५ करोड रुपैयाँको चुस्ता नै खरिद हुन्छ ।
गुणस्तर विभागका इन्जीनीयर ठेकेदारका एजेन्ट
प्रहरीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट टेक्सटाइल इन्जीनीयरको सुझाव लिन किन नसक्ने भन्ने सवाल पनि उठ्ने गरेको छ । विभागका टेक्सटाइल इन्जीनीयरहरु ठेकेदारहरुका एजेन्ट भएका कारण उनीहरुले पनि निष्पक्ष रुपमा सुझाव दिन नसक्ने आरोप लाग्ने गरेको छ । विभागका टेक्सटाइल इन्जीनीयरहरुको ठेकेदारहरुसँग कनेक्सन भएको र उनीहरुले गुणस्तरहीन सामान पनि पास गरेका धेरै गुनासो आएपछि नेपाल प्रहरीले केही बर्षदेखि बन्दोबस्तीका सामानको गुणस्तर टेष्टका लागि भारतको आइटेक र एसजीआईमा पठाउने गरेको छ । विभागका टेक्सटाइल इन्नीनीयरहरु प्रायः सबै ठेकेदारहरुबाट प्रभावित भएकाले पनि चुस्ता, कटन पाइन्ट र सर्टको स्पेसिफिकेसन परिवर्तनका लागि ल्याउनै नहुने प्रहरी स्रोत बताउँछ ।
स्पेसिफिकेसन के कस्तो परिवर्तन गरिएको छ, त्यसको केही पनि जानकारी ठेकेदारलाई दिनुहुँदैन । सेनाले विभाग बाहिरका टेक्सटाइल इन्जीनीयर करारमा लिएर चुस्ताको स्पेसिफिकेसन परिवर्तन गरेको थियो । उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा नेपाल प्रहरीले पनि विभाग बाहिरका एक टेक्सटाइल इन्जीनीयरलाई राखेर यसअघि चुस्ता लगायतका लत्ताकपडाको स्पेसिफिकेसन परिवर्तन गरेको थियो । तर शैलेश थापाले आइजीपी हुनासाथ पोलिसी कोअर्डिनेशन कमिटी(पीसीसी) को बैठक राखेर चुस्ता, कटन सर्ट र पाइन्टको स्पेसिफिकेसन परिवर्तन गर्ने निर्णय त गरे, तर अहिलेसम्म कमिटी बनाएका छैनन् । प्रबन्धका निमित्त प्रमुख कँडेल र एसपी बस्नेतले ठेकेदारसँग चुस्ता एउटाको, कटन सर्ट अर्कोको हाल्दिन्छु भन्दै मोलमोलाई गरिरहेको स्रोत बताउँछ । यसबारेमा आइजीपी थापा जानकार छन् कि उनलाई समेत कँडेल र बस्नेतले गुमराहमा राखेका छन् ? भन्ने प्रश्न उठेको छ । बस्नेतलाई यसअघिका आइजीपी ठाकुर ज्ञवालीले कन्चनपुरमा हुँदा डीएसपी दर्जामा सँगै कार्यरत थिए । ज्ञवाली आइजीपी भएपछि बस्नेत बढुवा हुने टोलीमा नै थिएनन् । तर सँगै बसेको सम्बन्धका कारण ज्ञवालीले एसपी बढुवा गरी प्रबन्धमा पदस्थापन गरेका थिए ।
कँडेल र बस्नेत ठेकेदारको प्रभावमा पर्दा आइजीपी थापालाई पहिलो गाँसमै ढुंगा हुने चिन्ता पनि प्रहरीभित्र प्रकट हुन थालेको छ । कँडेल यसअघि बजेटमा एसपी हुँदा पनि खाने खुवाउने मामलामा नाम आइरहने पात्र हुन् । उनले बजेटका तत्कालीन इन्स्पेक्टर विश्वविजय महतमार्फत् लेखापालहरुबाट रकम असुली लिने गरेको आरोप लाग्ने गरेको थियो ।
प्रबन्धमा फेरबदल
नेपाल प्रहरीका हरेक आइजीपी परिवर्तन हुनासाथ सबैभन्दा पहिला प्रबन्धका प्रहरी निरीक्षक र आर्थिक प्रशासनका एसएसपी परिवर्तन गरिहाल्छन् । सर्वेन्द्र खनाल आइजीपी भएकै दिन प्रबन्धका प्रहरी निरीक्षक बलराम खत्रीलाई हटाएर केशव गौतमलाई ल्याएका थिए । अहिलेका आइजीपी थापाले आएको दिन वा लगत्तै त परिवर्तन गरेनन्, तर पद सम्हालेको एक महिनामा प्रबन्धका दुई प्रहरी निरीक्षकको सरुवा गरेका छन् । उनले प्रबन्धको एलसीका केशव गौतम र खुद्राका रुद्र गिरीलाई सरुवा गरेका छन् । गौतमको ठाउँमा परशुराम मल्ल र गिरीको ठाउँमा सुमन थापालाई ल्याएका छन् । आइजीपी थापामा लोभमोह थिएन भने प्रबन्धका यी निरीक्षक परिवर्तन किन गरिहाल्नुपर्यो भन्ने सवाल पनि उनीतिर सोझिएको छ ।
रमेश चन्द ठकुरी आइजीपी सुवास गुरुङलाई प्रबन्धमा ल्याएका थिए । रविन्द्रप्रताप शाह र कुवेरसिंह राना दुवै आइजीपीको कार्यकालमा बलराम खत्रीले मन जितेर टिक्न सफल भएका थिए । त्यसअघि ९ बर्षसम्म सीताराम चापागाई प्रबन्धमा कार्यरत थिए । डीएसपीबाट केही बर्षअघि अवकाश पाएका उनीसँग ९ बर्ष प्रबन्धमा बस्दा करिब ५० करोडको सम्पत्ति कमाएको आरोप लागेको छ । अख्तियारमा दर्जनौं अकूत सम्पत्तिका उजुरी परे पनि उनीमाथि कारबाही भएन ।