जनकपुरधाम। बालविवाह मुक्त पालिका घोषणा गराउने उद्धेश्यका साथ धनुषाको लक्ष्मिनियाँ गाँउपालिकाको सपहीस्थित विपी माध्यमिक विद्यालयको प्राङ्गणमा शुत्रबार बालिका सम्मेलन सम्पन्न भएको छ ।
गर्लस फस्ट फण्डको सहयोगमा लाइफ नेपाल र लक्ष्मिनियाँ गाँउपालिकाले संयुक्त रुपमा आयोजना गरेको बालिका सम्मेलनमा किशोरीहरुले बालविवाह अन्त्यका लागि के के गर्नुपर्छ भन्ने विषयमा आफना धारणाहरु राखेका थिए । उनीहरुले मुलत आर्थिक विपन्नता र चेतनाको अभावमा बालविवाह जस्ता कुरीतिहरु बढ्दै गएको भन्दै यसका अन्त्यका लागि किशोरीहरुले एक अर्कालाई सचेत गराएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले बालविवाह अन्त्यका लागि निमार्ण भएका ऐन कानुनको समेत प्रभावकारी कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गर्दै बालविवाह रोक्नका लागि सरोकारवाला सबै पक्ष एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सम्मेलनमा किशोरीहरुलाई कुनै बेला संकट आइपर्दा आफुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा आत्मरक्षाका लागि तालिम समेत दिइएको छ ।