नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने

11.9k Shares

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण र औजारहरू राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको छ ।

अस्पतालका उपकरण र औजारहरू मर्मतका लागि अस्पताल प्रशासन र केन्द्रबीच लिखित सम्झौता गरिएको नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ता रौनियारले जानकारी दिए । उक्त सम्झौता पत्रमा अस्पताल प्रशासनका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायोमेडिकल इन्जिनियर उमेश किरान्तले हस्ताक्षर गरेका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा भेन्टिलेटर, मनिटर, फोटोथेरापी मेसिन, एक्सरे मेसिन, ईसीजी मेसिन, डायलसिस मेसिन, पल्स अक्सिमिटर, सक्सन मेसिन, बेबी वार्मर, अडियोग्राम, एन्स्थेसिया मेसिन, ल्याबकुली मेसिनलगायतका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण र औजारहरू बिग्रिएर वर्षौँदेखि थन्किएका छन् ।

ती उपकरण र औजारहरू महावीर पुन अध्यक्ष रहेका राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको उनले बताए ।  त्यसबापत केन्द्रलाई अस्पताल प्रशासनले सुरुको एक हप्ताका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्ने र एक हप्तामा काम नसकिएमा त्यसपछिको प्रतिदिन १५ हजार रुपैयाँ दरले अस्पतालले केन्द्रलाई दिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार