वीरगन्ज । त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेल घ्युजस्तै जमेको फेला परेको छ । बजारमा फेला परेको ब्याच नं. ०१, प्याकेट ०८१–०४ लेखिएको ‘रानी’ब्रान्डको कच्ची घानी सरसोको तेल ग्रेड–१ उल्लेख भएको तेलको प्याकेट घ्युजस्तै जमेको फेला परेको हो ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेलमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको विभिन्न जनावरको बोसोबाट बनाइएको तेलको अत्यधिक प्रयोग गरिएको जानकारहरूले आशंका व्यक्त गरेका छन् ।
उद्योगले ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको रानी ब्रान्डको खानेतेल जमेको फेला परेको सम्बन्धमा टिप्पणी गर्दै एक जानकारले मानव स्वास्थ्यका लागि अति नै हानिकारक मानिएको तेलको अत्यधिक मिसावट गरेको खण्डमा चिसोमा जम्ने हो, अन्यथा शुद्ध सरसोको तेल जतिसुकै चिसोमा राखे पनि नजम्ने दाबी गरेका छन् ।
सो उद्योगले उत्पादन गरी बजारमा पठाएको रानी ब्रान्डको १ लिटरको तेलको प्याकेट घ्युजस्तै जम्ने गरेको पाइएको छ । अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेल चिसोमा जम्ने, घाम लागेपछि पग्लिने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्राविधिकले समेत तोरी वा सरसोको तेल यदि शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने भन्छन् । ती प्राविधिकले यदि तेल जमेको छ भने त्यसलाई खानयोग्य नमानिने बताएका छन् ।
जानकारका अनुसार भारतको बरेलीबाट साबुनमा प्रयोगका लागि आयात गरिने जनावरको बोसोबाट बनाइएको टेलि तेल भारु ८० प्रतिलिटर ल्याएर खानेतेल भनेर उत्पादन गर्ने तेलमा अत्यधिक मिसावट गर्दा जम्छ अन्यथा कुनै हालतमा जम्दैन ।
खानेतेलसम्बन्धी अर्का एक प्राविधिकका अनुसार जनावरको बोसोका साथै कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पीएचओ भनिन्छ । यो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ ।
यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ ।
उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा पकाएको खानेकुराले मानव शरीलाई मन्दविषजस्तै असर भई यसले रगतमा खराबी, कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । धमनीहरूको भित्री भागमा नकारात्मक असर पारी धमनीहरू साँघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयाघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुने जानकारको भनाइ छ ।
नेपालका प्रतिष्ठित उद्योगी घराना भनिएको संघाई (त्रिवेणी ग्रुपको) मातहतको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिबाट यसरी मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेको पाइएको हो । आजको राजधानी दैनिकबाट