‘पाहुना’ पर्व क्रिसमसको उमंग

12.4k Shares

काठमाडौँ - उनका बुवाआमा बुद्ध धर्मालम्बी हुन् भने ससुरालीचाहिँ हिन्दु। उनले १४ वर्षदेखि इसाई (क्रिस्चियन) धर्म मान्दै आएका छन्। कुनै धर्म मन नपरेर होइन, इसाई धर्म अलि बढी मन परेर अँगालेको उनी सुनाउँछन्। ‘मलाई कुनै धर्म मन नपरेको होइन, क्रिस्चियन धर्म अँगाल्न मन लाग्यो’, क्रिसमसको तयारीमा जुट्दै गरेका जित तामाङले भने, ‘मैले हरेक धर्ममा मानवता र आफ्नोपन पाएको छु।’ दोलखा कालिञ्चोक घर भएका उनी हाल कागेश्वरी मनोहरामा बस्छन्। 

उनी धर्मले समाजलाई विभाजित गर्ने नभई एक बनाउने धारणा राख्छन्। ‘सबै आफ्नो धर्मको मागअनुसार चल्ने हो भने समाज झनै सुन्दर बन्छ’, उनले भने, ‘एकले अर्काको धर्मको सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ।’ 

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ पनि बुद्ध धर्मावलम्बी परिवारकै हुन्। २०३१ सालमा इसाई धर्म अँगालेका उनको पनि ससुराली हिन्दु धर्मावलम्बी हुन्। तर एकअर्काप्रतिको सद्भावमा कुनै कमी नआएको उनी बताउँछन्। ‘धर्म फेर्नेभन्दा पनि मानिस भित्रैदेखि धार्मिक भयो भने कुनै समस्या छैन’, उनले भने, ‘धार्मिक मानिस जुनसुकै धर्मको भए पनि सबैको साझा हुन्छ।’ धार्मिक मानिसको समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक हुने र उसले समग्र मानव जातिको कल्याण चाहने उनले बताए।

नेपालमा शताब्दीऔंदेखि धार्मिक सद्भाव रहँदै आएको छ। फरकफरक धर्म र आस्था राख्नेहरू पनि जित र हनोक जस्तै एकै छतमुनि बसेका छन्। उनीहरू एक अर्काको धर्मलाई सम्मान गर्दै अगाडि बढेका छन्। यसैले नेपाल धार्मिक सहिष्णुता भएको देशका नामले पनि चिनिन्छ।

भक्तपुरकी निशा थापा र पर्वतकी मीना बरालको मित्रता बसेको १२ वर्षभन्दा बढी भयो। थापा इसाई धर्मावलम्बी हुन् भने बराल हिन्दु। तर उनीहरूबीचको मित्रतामा धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाडपर्वमा हातेमालो गर्दै रमाउँदै आएको सुनाउँछन् उनीहरू।

क्रिसमसको रमाइलो हेर्न मंगलबार साथीसँगै ललितपुरको भनिमन्डलस्थित क्याथोलिक चर्चमा आएकी बरालले तिहारको दिन साथी थापा आफ्नो घर आएको सुनाइन्। ‘धर्म फरक भए पनि उत्सवको रमाइलोले सबैलाई खुसी दिन्छ’, उनले भनिन्, ‘हामी क्रिसमस सँगै मनाउने योजनामा छौं।’ आफ्नो पर्व क्रिसमसमा साथीले पनि साथ दिएकोमा थापा पनि खुसी छिन्। एक दशकदेखि नै इसाई धर्म मान्दै आएकी उनले आफू पनि हिन्दु धर्म मान्ने साथीको चाडपर्वमा रमाउने गरेको बताइन्। 

‘क्रिसमसमा ऊ (साथी) मेरो पाहुना हो,’ उनले भनिन्, ‘दसैंमा म उसको पाहुना हुँ।’ थापा र बरालजस्तै इसाई तथा गैरइसाई दुवै क्रिसमसमा देशभर रमाउँदै छन्। राजधानी काठमाडौंका सपिङ मलमा आयोजित क्रिसमस रमाइलोमा इसाईसँगै गैरइसाईहरू पनि देखिन्थे। टाउकोमा क्रिसमस टोपी र गालामा सान्ता क्लजको चित्र कोरिएका युवाको हँसिलो अनुहारले राजधानीका सपिङ मल तथा रेस्टुरेन्टमा क्रिसमसको उज्यालो छरिएको छ। हुन पनि हो, हरेक धार्मिक उत्सवले अर्थतन्त्रलाई पनि चलायमान पार्छन्। 

नेपाली समाजमा जस्तो एकले अर्काको धर्मलाई सम्मान गर्ने चलन संसारमै विरलै भेटिने अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु बताउँछिन्। उनी इस्लाम धर्मावलम्बी हुन्। इस्लाम धर्मले सबैलाई आदर गर्न सिकाउँछ भन्दै उनले अन्य धर्ममा पनि त्यस्तै भाव भेटिएको बताइन्। 

‘हामीले मुलुकमा धार्मिक सद्भाव बढाउने कार्य गर्दै आएका छौं’, उनी भन्छिन्, ‘धार्मिक सहिष्णुता र सद्भावका हिसाबले नेपाल गर्वलायक छ।’ इद पर्वका अवसरमा पनि अन्य समुदाय रमाएको सुनाउँदै अन्य समुदायको पर्वमा पनि आफूहरू रमाउने गरेको उनले सुनाइन्। ‘सबै चाडपर्वमा सबै समुदाय रमाउने अवसरले निरन्तरता पाओस्’, उनले भनिन्। क्रिसमसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु।’

गौतम बुद्ध हुन् या जिसस क्राइस्ट सबै आध्यात्मिक चेतनाका जन्मदाता भएको मनोसामाजिक परामर्शदाता एवं हिन्दुधर्मावलम्बी डा. नम्रता पाण्डेको धारणा छ। उनका अनुसार सबै सबैको लक्ष्य मानव शान्ति र करुणा हो। ‘धार्मिक उत्सवले सबै धर्मावलम्बीलाई जीवनप्रति सकारात्मक बोध गराउँछ’, उनले भनिन्, ‘त्यही भएर नेपाली समाज हरेक धार्मिक र समाजको उत्सवमा रमाउने गर्छ।’

बढ्दै इसाई धर्मावलम्बी 

झन्डै पाँच दशकअगाडि आफूले इसाई धर्म अँगाल्दा नेपालमा इसाईको संख्या सयौंमा रहेकोमा अहिले लाखौंमा पुगेको नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङले बताए। २०१७ सालमा स्थापना भएको मण्डलीहरूको छाता संगठनका अध्यक्ष तामाङ हाल मुलुकभर करिब १२ हजार चर्च र २० देखि २५ लाखको हाराहारीमा इसाई धर्मावलम्बी रहेको अनुमान गर्छन्। कतिपयले इसाई धर्मावलम्बीको संख्या ४० लाखको हाराहारीमा रहेको दाबी गर्छन्। 

राष्ट्रिय मण्डली संगतिका अध्यक्ष तामाङ भने दुवै तथ्यांकलाई सही मान्न तयार छैनन्। ‘न जनगणनामा देखिएको जस्तो कम छ न कतिपयले दाबी गरेजस्तो अत्यधिक बढी नै’, उनले भने, ‘मेरो अनुमानमा नेपालमा इसाई धर्म मान्ने २० देखि २५ लाख हाराहारीमा छन्।’ 

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको झन्डै तीन करोड जनसंख्यामा इसाई धर्मावलम्बीको संख्या पाँच लाख १२ हजार तीन सय १३ छ, जुन कुल जनसंख्याको १.७६ प्रतिशत हुन आउँछ। २०६८ को जनगणनामा यो प्रतिशत १.४ थियो। २०५८ सालको जनगणनामा इसाई धर्मावलम्बीको संख्या एक लाख थियो।

तामाङ धर्म मान्नेको संख्या जति भए पनि मानिस कति धार्मिक भयो भन्ने कुराले मात्र अर्थ राख्ने सुनाउँछन्। ‘धार्मिकताको भाव भयो भने त्यो सार्थक रहन्छ’, उनी भन्छन्, ‘नत्र संख्याले मात्र खासै केही अर्थ राख्दैन।’ 

सबै धर्मले मानवतालाई नै अँगालेको उनको बुझाई छ। ‘क्रिसमसले दिने सन्देश भनेको असत्यमाथि सत्यको विजय, अँध्यारोमाथि उज्यालोको जित अनि अशान्तिमाथि शान्तिको विजय हो’, उनी भन्छन्, ‘धर्म र जातका नाममा कहिल्यै अशान्ति नछाओस्।’ आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार