के हुन्छ अब मुद्दा दायर भएपछि रविको सांसद पद ?

12.5k Shares

काठमाडौं । दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । मुद्दा दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।

अभियोग लागेका कारण मात्रै भने उनको पद अप्ठेरोमा पर्दैन । संविधानको धारा ८७ मा योग्यता पुगेको कुनै पनि सांसद संघीय कानून अनुसार अयोग्य नभएसम्म पदमा बहाल हुने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन सम्बन्धी व्यवस्था अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका कसुरदारहरु सांसद हुन अयोग्य हुन्छन्, तर उनीहरु माथिको अभियोग अदालतको अन्तिम रुपमा ठहर भएको हुनुपर्छ । रवि लामिछाने विरुद्ध मुद्दा दायर भएकोसम्म हो, उनको मुद्दाको फैसला आउने कम्तिमा पनि एकाध वर्ष लाग्ने देखिन्छ ।

‘मुद्दा दायर भएकै कारण कसैलाई दोषी किटान गर्न मिल्दैन, अदालतबाट दोषी ठहर नभएसम्म उहाँको पद तलमाथि हुँदैन’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘अदालतबाट अन्तिम फैसला आइसकेपछि मात्रै फैसलाका आधारमा पदको टुंगो हुने हो, अहिले त मुद्दा दायर भएकोमात्रै हो, पद केही फरक पर्दैन ।’

सम्बन्धित समाचार