काठमाडौं– नेपाली कांग्रेसको आशन्न १५औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।
गत मंसिर २२ मा आफ्नो गृहनगर विराटनगरमा पार्टीको कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश भेला बहिष्कार गरेका नेता कोइराला शुक्रबार आफूनिकट केही नेताहरूका साथ कैलालीको धनगढी पुगेका हुन् ।
कांग्रेसको कोशी प्रदेश कार्यसमितिले प्रदेश भेला आयोजना गर्नुअघि उनी विराटनगर महानगरपालिका कार्यसमितिको संयोजनमा आयोजित कोशी प्रदेशको पालिकास्तरीय सभापतिहरूको भेलामा सहभागी भएका थिए । उक्त भेलालाई कांग्रेसको संस्थापन पक्षले रोक्न खोजेको थियो ।
कोशी प्रदेशअन्तगर्तका पालिका सभापतिहरूको भेला राखेर विराटनगरमा गरिएको शक्ति प्रदर्शनपछि कोइराला सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेर धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा कांग्रेस कार्यकर्ताहरूले बाजागाजासहित लामो लाइन लागेर भव्य स्वागत गरेका छन् ।