काठमाडौँ । वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रनरवीर विश्वकर्माका अनुसार बुधबार राति घरभित्र कोइला बालेर सुत्नुभएका देवीसरा थापा र उहाँका छोरा छ वर्षीय रियान थापाको मृत्यु भएको हो । देवीसराका नौ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको विश्वकर्माले जानकारी दिनुभयो । प्रहरीले तिनै जनालाई अस्पताल पु¥याएकोमा चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए ।
चिसो बढेसँगै कोठा तताउन झ्याल ढोका थुनेर आगो, कोइला वा हिटर बालेर सुत्दा यस्ता घटना बर्सेनि दोहोरिने गरेका छन् । गत वर्ष पुस ९ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामाको पनि यसै गरी निसास्सिएर मृत्यु भएको थियो । चिसोबाट बच्न कोठाभित्र हिटर र आगो बालेर सुत्नुभएका लामा र उहाँकी पत्नी असनीमाया लामा बेहोस फेला परेपछि उद्धार गरी धुलिखेल अस्पताल पु¥याइए पनि कर्मग्याल्बोको ज्यान बचेन ।
विसं २०७६ माघ ९ गते मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सुतेका आठ जना भारतीय पर्यटकको ज्यान गयो । रिसोर्टमा हिटर बालेर सुतेका भारत केरलाका रन्जित कप, इन्द्र कप, प्रवीण, सरिया, अभी, अर्चना, बैसनव बन्द्राको बेहोस अवस्थामा हेलिकोप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल ल्याई उपचार गरे पनि ज्यान बचेन ।
त्यसको एक हप्तापछि ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिट्नेसको बाथरुममा नुहाउने क्रममा हस्त गर्बुजा मगर र उहाँकी पत्नी नेत्रकुमारीको निसास्सिएर मृत्यु भयो । पानी तताउन ग्यास गिजर बाल्दा दुवै जनाको मृत्यु भएको खुल्यो । यी केही घटना मात्र हुन् । चिसोबाट बच्न घर वा कोठाभित्र आगो बाल्ने र हिटर बालेर सुत्दा निसास्सिएर बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । बालबालिकालगायत वृद्धवृद्धालाई चिसोबाट जोगाउन कोठाभित्र आगो वा हिटर बाल्ने र झ्यालढोका थुनेर सुत्दा ‘कार्बन प्वाइजनिङ’ सँगै अक्सिजनको कमी हुने गरेका कारण अनायासै मृत्युका घटना दोहोरिँदै गएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष यस्ता घटना वृद्धि हुँदै गएका छन् । पछिल्ला पाँच वर्षमा मात्र यस्ता घटनाबाट ३९ जनाको मृत्यु भएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार जना र आर्थिक वर्ष २०७८/७९ मा १८ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा चार जना र आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु भएको छ । त्यसै गरी यस अवधिमा निसास्सिएर पाँच जना गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले चिसोबाट बच्न कोठाभित्र दाउरा, कोइला वा हिटर बाल्ने तर सावधानी नअपनाउने कारण बर्सेनि कैयौँ मानिसको अकालमा ज्यान जाने गरेको बताउनुभयो । अधिकारीका अनुसार नेपाल प्रहरीले समुदाय स्तरमा यसबारे जनचेतना पु¥याउने गरेको छ तर प्रहरीका विभिन्न माध्यमबाट भइरहेका जनचेतनाका प्रयास मात्र पर्याप्त देखिन्न । आजको गोरखापत्र दैनिकबाट