काठमाडाैं | सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि ६२ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक भएको छ ।
शुरूमा फोटोको वास्तविकताबारे नै प्रश्न उठिरहेका बेला यो फोटो वास्तविक नै भएको देखिएको छ । प्रहरीले फोटो कसले खिचेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
यो फोटो त्यतिबेला सार्वजनिक भएको छ, जतिबेला सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानका आधारमा अदालतमा मुद्दा अभियोजन हुन १ दिन मात्र बाँकी छ ।
हिरासतभित्र सुतेको अवस्थामा फोटो बाहिर ल्याइएको भन्दै रास्वपा कार्यकर्ताले सरकारको नियतमाथि प्रश्न गरेका छन् ।
प्रहरी हिरासत संवेदनशील स्थान हो, जहाँ असम्बन्धित व्यक्ति जान पाउँदैनन् । परिवारका सदस्य, पार्टीका नेता र मानव अधिकारकर्मीले पनि भेट्नकै लागि छुट्ट्याइएको निश्चित ठाउँमा मात्र भेट्न पाउँछन् ।
त्यस्तो संवेदनशील स्थानको फोटो कसले खिच्यो र कसरी बाहिर ल्यायो भन्ने गम्भीर विषय हो । कास्की प्रहरीले फोटोबारे अनुसन्धान भइरहेको बताएको छ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डा. निकोलश भुसालले फोटो आफूले खिचेको र उनले फोटो खिचेकोमा माफी मागेका छन् । निकोलश २०७९ सालमा रूपन्देही २ बाट चुनाव लड्न खोजे पनि उम्मेदवारी खारेज भएका व्यक्ति हुन् । उनी पछिल्लो समय रास्वपासँग निकट छन् ।
रास्वपाले प्रहरीले नै सार्वजनिक गर्यो भनेर प्रश्न गरिरहेका बेला रविलाई नै भेट्ने बहानामा गएका उनकै समर्थक भुसालले खिचेको देखिएको छ ।
लोकान्तरसँग कुरा गर्दै भुसालले आफूले मंसिर २९ गते शनिबार प्रहरी कन्ट्रोल रुमबाट फोटो खिचेको स्वीकारेका छन् ।
प्रहरी कन्ट्रोल रूमबाट खिचिएको हो, खिच्नेलाई कारबाही हुन्छ– प्रहरी प्रवक्ता
‘प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि सीसीटीभीबाट अनुगमन भइरहेको हुन्छ । सीसीटीभी कन्ट्रोलरूमबाट अनधिकृत ढंगले फोटो खिचेको पाएका छौं,’ अधिकारीले लोकान्तरसँग भने, ‘खिच्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्छौं ।’
अनधिकृत व्यक्तिलाई सीसीटीभी कन्ट्रोल रूमसम्म जान पहुँच दिने प्रहरी अधिकारीमाथि पनि कारबाही हुने उनले बताए ।
‘अनधिकृत व्यक्ति प्रहरीको कन्ट्रोल रूमसम्म कसरी पुगे भन्नेबारे पनि अनुसन्धान हुँदैछ । त्यसरी पहुँच दिने व्यक्तिमाथि पनि कारबाही हुन्छ,’ प्रवक्ता एसएसपी विश्व अधिकारीले भने ।