पोखरामा पुस १० गतेदेखि बेलुन महोत्सव हुने

9.8k Shares

काठमाण्डौ – आउँदो पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै २५ डिसेम्बर २०२४ देखि  पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिइएको हो ।

महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक सविन महर्जनले नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताउनुभयो ।

नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशकाे प्रतिनिधित्व हुनेछ । महोत्सवमा २५ वटा बेलुन ५ हजार फिटसम्म उडाइने उहाँले जानकारी दिनुभयो । महोत्सवमा ७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरिका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरू भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् ।

सम्बन्धित समाचार